अपहरणको नाटक गरेर आफ्नै परिवारसँग २० लाख फिरौती माग्ने कृष्ण पक्राउ

अपहरणको नाटक गरेर आफ्नै परिवारसँग २० लाख फिरौती माग्ने कृष्ण पक्राउ

काठमाडौँ : आफु अपहरणमा परेको नाटक गरेर परिवारसँग २० लाख फिरौती माग्ने एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको राजगढ–३ घर भई ललितपुरको इमाडोलमा बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन्। 

शर्माले आफ्नो मोबाइल अफ गरेर असार २ गते सामाजिक सञ्जाल इमोमार्फत आफ्नै परिवारलाई २० लाख फिरौती मागेको आरोपमा पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। 

शर्मा गत असार १ गते परिवारलाई आईएमईबाट रकम पठाउन जान्छु भन्दै कोठाबाट हिँडेका थिए। उनले एक्कासी मोबाइल अफ गरेर सम्पर्कविहीन भएका थिए। शर्मा परिवारको सम्पर्कबिहिन भएपछि उनको खोजीका लागि परिवारले प्रहरीवृत्त सातदोबाटोमा निवेदन दिएका थिए।

शर्माले प्रयोग गर्दै आएको सामाजिक सञ्जाल ईमोबाट उनको परिवारलाई कृष्ण कुमार अपहरणमा परेको भन्दै फिरौती मागेको एसपी कोइरालाले बताए। 

कृष्ण कुमारलाई मार्नका लागि आठ लाख रुपैयाँ प्राप्त भइसके पनि २० लाख फिरौती दिएमा उनलाई अपहरणमुक्त गरी दिन्छौँ भन्दै उनले म्यासेज गरेको एसपी कोइरालाले बताए। 

फिरौतीको बार्गेनिङ चलिरहेका बेला महाशाखाबाट खटिएको टोलीले अपहरणको घटना उनले रकम प्राप्त गर्न बनाएको पत्ता लगायो। उनले रकमकै लागि नियोजित रूपमा आफूलाई नाटकीय अपहरण गरेको म्यासेज तथा भिडिओ क्लिप्स बनाई पठाएको खुल्न आएपछि प्रहरीले उनको खोजी गर्याे।

महाशाखाको टोलीले जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा कृष्णकुमारलाई विराटनगरबाट पक्राउ गरेको हो। शर्माविरुद्ध सार्वजनिक उपद्रयाईं गर्न नहुने कसुर अन्तर्गत थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त, सातदोबाटो पठाइएको महाशाखाले जनाएको छ।

असार ७, २०७९ मंगलबार १७:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।