विवाहको प्रलोभन देखाएर बलात्कार, बेहोस बनाएर पैसा र गहना लुटेर फरार

विवाहको प्रलोभन देखाएर बलात्कार, बेहोस बनाएर पैसा र गहना लुटेर फरार

काठमाडौँ : विवाहको प्रलोभनमा पारेर गेस्ट हाउमा लगी बलात्कार गरेर साथमा रहेको एक लाख लुटेर हिँडेको अभियोगमा विश्व तामाङ पक्राउ परेका छन्। जेठ २९ मा २४ वर्षकी महिलालाई भोटेबहालमा रहेको एक गेस्ट हाउसमा लगेर पेय पदार्थमा लट्ठिने पदार्थ मिसाई खुवाएर जबरजस्ती करणीसमेत गरेको आरोपमा काठमाडौँ प्रहरी परिसरले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले महिलाको बलात्कार गरेर उनको साथमा रहेको एक लाख रुपँया, २ तोला सुन र मोबाइल समेत लुटेर हिँडेका थिए।

जेठ ३१ मा ती महिलाले प्रहरी वृत्त कालीमाटीमा जाहेरी गरेपछि प्रहरी उनको खोजीमा खटिएको थियो। महिलाले बलात्कार गर्ने व्यक्तिको नाम भोटे भनेको मात्र उल्लेख गरेकी थिइन्। प्रहरीले महिलाको विस्तृत स्वास्थ्य र शारीरिक परीक्षण गराएर आरोपी खोज्न थालेको थियो।

ती आरोपीले गेस्ट हाउसमा बस्दा समेत सबै विवरण महिलाको नै राखेका थिए। अनुसन्धानकोक्रममा आरोपीको नाम विश्व तामाङ भन्ने खुलेपछि  असार पाँच गते उनी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका तामाङ काभ्रे तिमालका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेश राज मैनालीका अनुसार उनीमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को देहाय २१९ को जबर्जस्ती करणी गर्न नहुने र ऐ. ऐनको परिच्छेद-२० को देहाय २४१ को चोरी गर्न नहुने कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।

असार ७, २०७९ मंगलबार १६:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।