प्रदेश १ का एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ का एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले प्रदेश १ को पहाडी भूभागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो।
हाल देशको प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
आज दिउँसो प्रदेश १, बागमती, मधेश र गण्डकी प्रदेशका केही भूभागमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति प्रदेश १ का केही र मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
असार ७, २०७९ मंगलबार ०७:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।