आयुक्तले सम्पत्ति विवरण बुझाए-नबुझाएबारे अख्तियारले दिएन जानकारी

आयुक्तले सम्पत्ति विवरण बुझाए-नबुझाएबारे अख्तियारले दिएन जानकारी

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुक्तहरूले लिएको बैठक भत्ता र सम्पत्ति विवरण बुझाए-नबुझाएको विवरण लुकाएको छ। सूचनाको हक अनुसार आयोगका पदाधिकारीले लिएको भत्ता विवरण र उनीहरूले सम्पत्ति विवरण बुझाएको निकाय र मितिबारे मागिएको जानकारी उपलब्ध  गराएन।

नेपाल विवेकशील पार्टीका सङ्घीय समिति सदस्य शशि विक्रम कार्कीले आयोगमा आयुक्तहरूले बैठक भत्ता लिए नलिएको; सम्पत्ति विवरण बुझाएको वा नबुझाएको लगायतका विषयको सूचना मागेका थिए।

माग भएको विवरणबारे प्रस्ट जानकारी दिने वा दिन नमिल्ने भए सो उल्लेख गर्नुको साटो शाखा अधिकृत शिव कुमार राईले विभिन्न ऐन देखाउँदै गोलमटोल जवाफ दिएका छन्।

शाखा अधिकृत राईको जवाफले अख्तियारका प्रमुख आयुक्त तथा आयुक्तहरू हालसम्म कति रकम भत्ता बापत लिएको, सम्पत्ति विवरण बुझाएको या नबुझाएको बुझाएको भए कुन मितिमा बुझाएको भन्ने लगायतका विवरण उल्लेख छैन।

कार्कीले आयोगमा २०७८ वैशाख १ देखि आयोगमा परेका उजुरीहरूको सम्बन्धमा आयोगको बैठक कुन कुन मितिमा कति पटक बस्यो र ती उजुरीहरूको सम्बन्धमा के निर्णयहरू भयो?, आयोगको बैठक भत्ता बापत आयुक्तहरूले बैठक भत्ता प्राप्त गर्छन् या गर्दैनन् र गर्छन् भने कति लिए, आयोगका प्रमुख आयुक्त, आयुक्तहरू, सचिव, प्रवक्ता, सूचना अधिकारीले तथा उजुरी परीक्षण (स्क्रिन) समितिमा बसेर काम गर्ने कर्मचारीहरूले सम्बन्धित निकायमा बुझाउनु पर्ने सम्पत्ति विवरण बुझाएको छ छैन लगायतका सूचना मागेका थिए।

गोलमटोल जवाफ दिए पछि कार्कीले आयोगको कार्यालय प्रमुखसँग पुनः सूचना माग गरेका छन्।  

असार ६, २०७९ सोमबार २१:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।