मनोज पाण्डे डिल्लीबजार कारागारमा, हिम्मत नहारे आठ वर्षपछि पनि 'न्याय' पाइने रैछ

मनोज पाण्डे डिल्लीबजार कारागारमा, हिम्मत नहारे आठ वर्षपछि पनि 'न्याय' पाइने रैछ

काठमाडौँ : आठ वर्ष अगाडि आफुमाथि भएको बलात्कारको घटना सार्वजनिक गरेकी युवतीको जाहेरीका आधारमा काठमाडौँ जिल्ला अदालतले मनोजकुमार जैसी भन्ने मनोज पाण्डेलाई पुर्पक्षको लागि कारागार पठाएको छ।

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत रहेका उनीमाथि सौन्दर्य प्रतियोगिता आयोजना गरेर सहभागी भएका युवती र बालिकालाई बलात्कार यौन दुर्व्यवहार गरेको अभियोग लागेको थियो।

बलात्कारको घटना भएको एक वर्षभित्र जाहेरी दिनुपर्ने कानुनी प्रावधानका कारण युवतीले पाण्डेमाथि मानव बेचबिखन तथा ओसारपसारको अभियोग लगाएको थियो भने एक किशोरीको जाहेरीको आधारमा उनीमाथि बाल यौन दुर्व्यवहारको अभियोग लागेको थियो।

दुवै अभियोगबारे सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले पछि देखिने प्रमाण अनुसार फैसला आउने भन्दै तत्कालका लागि पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो।

मानव बेचबिखनको अभियोगमा उनलाई पुर्पक्ष भएको हो भने बाल यौन दुर्व्यवहारको अभियोगमा एक लाख धरौटी माग भएको छ। आदेश अनुसार उनलाई डिल्लीबजार कारागारमा पठाइएको छ।

पाण्डेले आयोजना गरेको मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानकोक्रममा तत्कालीन समयमा ती युवतीले घटनाको तीन महिनापछि पाण्डेले आफुमाथि गरेको यौन अपराधबारे बताउँदाका साक्षीमध्येका २ जानको बयानले सो घटनाबारे आधार दिएको थियो।

तत्कालीन समयमा घटनाबारे सुनेका २ व्यक्तिको बयान र पीडितको बयान लगायतका प्रमाणले तत्काल उनलाई निर्दोष भन्न नसकिने भन्दै अदालतले उनलाई कारागारमै रहेर मुद्दाको बाँकी प्रक्रियामा सहभागी हुन आदेश दिएको हो। 

असार ६, २०७९ सोमबार २०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।