मन्त्री आलेको अश्लील गाली खाने अध्यक्षलाई निलम्बन गर्यो सरकारले

काठमाडौँ : कर्मचारीमाथि अश्लील गाली गर्ने पर्यटनमन्त्रीलाई उन्मुक्तीदिँदै सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ। केही दिन अगाडि आलेले अधिकारीलाई अश्लील गाली गरेको अडियो सार्वजनिक भएको थियो।
मन्त्री आलेकै सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई निलम्बन गरेको हो। मन्त्रिपरिषद् बैठकमा उनीमाथि छानबिन गर्न समिति समेत गठन गर्ने निर्णय समेत भएको छ।
संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई ट्विनअटर विमान भाडामा दिँदा कानुनी आधार र औचित्य बाहिर गएको, साउदी निगमको सेवा विस्तारको उद्घाटन गर्न साउदी अरब जाँदा जम्बो टोली लगेको, निगमका पदाधिकारी र कर्मचारीलाई अनुशासनमा राख्न नसकेको लगायतको आरोप लगाउँदै जेठ २६ गते स्पष्टीकरण सोधेको थियो।
अधिकारी यस अगाडि निगमको महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका व्यक्ति हुन्। विवादित छवि भए पनि उनी कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए। उनीमाथि मन्त्रीपरिषद्ले सोमबार आलेले दुर्व्यवहारको गरेको अडियो सार्वजनिक गरे बापत निर्णय गरेको देखिन्छ।
मन्त्रीपरिषद्ले कर्मचारीलाई अश्लील गाली गरेका मन्त्री आलेबारे भने केही बोलेको छैन। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल समेत आलेको गैर जिम्मेवार आचरणबारे मौन बस्दै आएका छन्।
यस अगाडि उनले भारतमा बस्दै गरेका एक नेपालीलाई उनले सामाजिक सञ्जालमा लेखेको प्रतिक्रियाकै कारण फोन गरेर अश्लील गाली गरेको अडियो सार्वजनिक भएको थियो। आलेको पृष्ठभूमि विवादित रहे पनि उनलाई पार्टीका माथिल्ला तहकै नेताहरूले संरक्षण गरिरहेका छन्।
असार ६, २०७९ सोमबार २०:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।