सेनाले सरकारलाई बाइपास गरेर पठाएको एसपीपी सम्बन्धी पत्र अस्वीकार, मन्त्रीपरिषद्ले अमेरिकालाई अर्को पत्र पठाउने

सेनाले सरकारलाई बाइपास गरेर पठाएको एसपीपी सम्बन्धी पत्र अस्वीकार, मन्त्रीपरिषद्ले अमेरिकालाई अर्को पत्र पठाउने

काठमाडौँ : कसको पालमा पत्र पठाएको भन्दै विवादमा आएको अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) अन्ततः अस्वीकार गर्ने निर्णय भएको छ। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सो कार्यक्रम अस्वीकार गर्ने जानकारी सहित अमेरिकालाई पत्र पठाउने निर्णय भएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलका अनुसार अब विदेशी कूटनीतिक नियोगलाई लेखिने पत्र परराष्ट्र मन्त्रालयबाट मात्र पठाइने समेत निर्णय भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको क्रममा एसपीपीमा सम्झौता गर्ने तयारी गरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरूले विरोध गरेका थिए। तर पछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपाली सेनाले अमेरिकी दूतावासलाई पत्र पठाएको खुलेको थियो।

त्यसपछि ओलीले आफूलाई त्यति बेला यसबारे कुनै जानकारी नदिएको दाबी गरेका थिए। सेनाको सो कदमको सेनाभित्रै समेत विवाद भएको थियो। सैनिक नेतृत्वले कूटनीतिक च्यानल ब्रेक गरेर पत्र पठाएको खुलेपछि मन्त्रिपरिषद्ले कूटनीतिक नियोगलाई पठाउने पत्र परराष्ट्र मन्त्रालयमार्फत मात्र पठाउने समेत निर्णय गरेको हो।

एसपीपीबारे विवाद भएपछि पहिला सेनाले त्यसबारे कुनै पत्राचार नगरेको दाबी गरेको थियो। तर उसको सो दाबी झुटो रहेको पुष्टि भएको थियो। तत्कालीन सेनापति राजेन्द्र क्षत्रीले एसपीपीमा सहभागिताका लागि २०७२ कात्तिक १० मा अमेरिकी दूतावासलाई पठाएको पत्र सार्वजनिक भएपछि भने सेनाले पत्र पठाएको स्वीकार गरेको थियो।

 

असार ६, २०७९ सोमबार २०:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।