स्वतन्त्र उम्मेदवारप्रति आरजुको कटाक्ष' आउन् रमाइलो हुन्छ'

स्वतन्त्र उम्मेदवारप्रति आरजुको कटाक्ष' आउन् रमाइलो हुन्छ'

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको मेयरमा कांग्रेसबाट सिर्जना सिंह उम्मेदवार बन्ने पक्का भएपछि उनको घरमै पुगेर कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले भनेकी थिइन्' भेलातिर धेरै नअल्मलिनु। जति सकिन्छ मतदातासँग भेटघाट गर्नु। साथीहरूले मलाई भेलामै अलमल्याएकाले हारेकी थिएँ।'

आरजुको सुझाव अनुसार सिंहले काठमाडौँमा मतदाता भेटघाट बढाएकी नै थिइन्। तर उनको केही चलेन। स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहसँग उनी ठुलै मतान्तरले पराजित भइन्। उनी दोस्रो भइन् भने एमाले उम्मेदवार केशव स्थापित तेस्रो भए।

शाहको विजयपछि पछिल्लो समय आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गर्ने क्रम बढेको छ। ती घोषणाहरू काठमाडौँ केन्द्रित छन्। वैकल्पिक राजनीतिक अभ्यास गर्ने दाबी गरेकाहरू देखि भिन्न पेशामा रहेकाहरू समेत आगामी निर्वाचनमा संसद्मा उम्मेदवार बन्ने घोषणा गरिरहेका छन्।

यसमा कलाकारदेखि पत्रकारसम्म छन्। टेलिभिजनकर्मी रवी लामिछाने सांसदको उम्मेदवार बन्न ग्यालेक्सी टेलिभिजन छाडिसकेका छन्। अभिनेता राजेश हमाल समेत उम्मेदवार बन्ने चर्चा छ। तर उनले घोषणा गरेका छैनन्। 

राणाले सोमबार एक कार्यक्रममा त्यही स्वतन्त्र उम्मेदवारी घोषणाप्रति लक्षित गर्दै भनिन्' अब अहिले स्वतन्त्र उम्मेदवारहरूको सङ्ख्या बढिरहेको छ। कलाकारले पनि एक्टिङ छाडेर राजनीति गर्ने अनि पत्रकारले पनि पत्रकारिता छाडेर राजनीतिमा आउने । हुनु राम्रो हो रमाइलो पनि हुन्छ। विविध व्यक्ति विविध विचार बोकेर आउँछन्। तर देश बनाउने पार्टी नै हो।'

असार ६, २०७९ सोमबार १८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।