रवी लामिछाने कांग्रेस प्रवेश गर्ने 'हल्ला मात्रै', काठमाडौँ क्षेत्र नम्बर २ र ३ को उम्मेदवारीबारे छलफल नभएको नेताहरुको दाबी

काठमाडौँ : ग्यालेक्सी टेलिभिजन छाडेर सक्रिय राजनीतिमा होमिएको घोषणा गरेका रवी लामिछाने कांग्रेसबाट काठमाडौँको क्षेत्र नम्बर २ वा ३ बाट उम्मेदवार बन्न नेताहरूसँग छलफलमा रहेको सूचना चुहिएसँगै सो क्षेत्रका आकाङ्क्षीहरूको सक्रियता बढेको छ।
लामिछानेले काठमाडौँको क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने सङ्केत गरिरहेका छन्। त्यहीबाट उनका दाइ हरिशरण लामिछाने स्वतन्त्र राष्ट्रिय अभियानको नाममा उम्मेदवार बन्ने तयारीमा छन्।
काठमाडौँ क्षेत्र नम्बर २ मा काङ्ग्रेसबाटै उम्मेदवार बनाउन समेत कांग्रेसका केही नेताहरूले उनीसँग परामर्श गरेको समाचार समेत सार्वजनिक भए। तर कांग्रेसका उच्च तहका नेताहरूले नै यसलाई स्वीकार गरेनन्।
उकेराले सम्पर्क गरेका केही उच्च नेताहरूले स्थानीय तहको निर्वाचन अगाडि लामिछानेसँगै राजनीतिमा चासो राख्ने कलाकार अनि चिकित्सकहरूसँग समेत छलफल गरे पनि स्थानीय तहको निर्वाचनपछि त्यस्तो कुनै छलफल र प्रस्ताव नगएको बताउँछन्।
'स्थानीय तहको निर्वाचन अगाडि लामिछाने अनि राजेश हमाल लगायतका स्वतन्त्र व्यक्तिहरूसँग छलफल भएको हो। तत्काल उहाँहरू पार्टीगत राजनीतिमा आउन इच्छुक देखिनुभएन,' एक उच्च तहका कांग्रेस नेताले उकेरालाई भने' त्यसयता पार्टीबाट औपचारिक रूपमै कसैसँग छलफल भएको छैन। व्यक्तिगत रूपमा कसैले छलफल गरेको भए जानकारी भएन।'
काठमाडौँ क्षेत्र नम्बर २ कांग्रेस नेता प्रकाशमान सिंहको प्रभाव चल्ने क्षेत्र हो। यसबारे सिंहबाट केही पहल भएको हो त ? सिंहका सहयोगी युपी लामिछानेले सिंहले लामिछानेसँग भेटघाट नगरेको र पार्टीबाट उम्मेदवार बनाउनेबारे समेत छलफल नगरेको उकेरासँग दाबी गरे।
काठमाडौँ क्षेत्र नं ३ बाट उम्मेदवार हुन कांग्रेसका केन्द्रीय सदस्य, प्रदेश सांसददेखि पूर्व नगरप्रमुखसम्म आकाङ्क्षी छन्। कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत, क्षेत्रीय सभापति तथा गोकर्णेश्वर नगरपालिकाका पूर्व प्रमुख सन्तोष चालिसे, हरिबोल भण्डारी, प्रदेश सभा सांसद छिरिङ दोर्जे, महासमिति सदस्य विमल ठकुरी सो क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने प्रतिस्पर्धामा छन्।
क्षेत्रीय सभापति चालिसेले कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई क्षेत्र नम्बर ३ बाट सांसदको टिकट दिने वचन दिएको दाबी गरे।
‘सबै साथीहरूबाट तपाई नै आउनुपर्छ भनेर आवाज उठेको छ। शेरबहादुर दाइले दुई चोटि बोलाएरै भनेको भएर मैले तयारी गरेको छु,’ चालिसेले भने' रवि लामिछानेले यहाँ पनि उठ्छु ७ नं, ४ नं उठ्छु भनेका छन्। उनी सबैतिर छाम्दैछन्। तराईतिर गएर पनि बोल्दै थिए।’
उनले पार्टीले गैर जिम्मेवार निर्णय नगर्ने दाबी गर्दै भने' आफ्नो पार्टीकोलाई सिद्ध्याएर बाहिरकोलाई ठाडै ल्याउन कसको तागत छ र ? १३ वटा इकाई २ वटा प्रदेश भएको मान्छे म। सिफारिस पनि त चाहिन्छ नि। यसो उसो भन्दैमा हुन्छ र पार्टीभित्र ? त्यो सबै मेरो हातमा छ। त्यसरी हुँदैन’ उनले भने।
केन्द्रीय सदस्य अम्बिका बस्नेत पनि सांसदको उम्मेदवार बन्ने तयारीमा छिन्। स्थानीय तहमा उम्मेदवारको टिकट बाँड्दा केन्द्रबाट मनपरी भएको भन्दै उनले केन्द्रीय सदस्यबाट राजीनामा समेत दिएकी थिइन्।
‘मेरो पनि तयारी छ, थप कुरा गर्न नमिल्ने अवस्थामा छु। पछि कुरा गरौँला, बस्नेतले भनिन्।
उता क्षेत्र नम्बर २ का आकाङ्क्षीहरू पनि पार्टी रहेर लामो समयदेखि क्षेत्रमा सक्रियलाई छाडेर एकै पटक नयाँ अनुहार ल्याउने निर्णय पार्टीले नगर्ने बताउँछन्। क्षेत्र नम्बर २ मा दीपक कुइँकेल र प्रतिमा गौतमसँगै लोकेश ढकाल र उपेन्द्र कार्की समेत आकाङ्क्षी छन्।
‘म आफैँ उम्मेदवारको तयारी गर्दैछु,’ केन्द्रीय सदस्य गौतमले भनिन् 'पार्टीबाट लामिछाने उम्मेदवार बन्नेबारे पार्टीमा छलफल भएको छैन। उम्मेदवार छान्ने प्रक्रिया पनि छ। एकाएक नयाँ व्यक्ति छानिने सम्भावना देख्दिन।'
उता लामिछाने निकटहरू यसबारे केही बोल्न इच्छुक छैनन्। यसबारे लामिछानेले मङ्गलवार राष्ट्रिय सभा गृहमा कार्यक्रम राखेका छन्। जे गर्ने हो त्यही घोषणा हुने उनीहरूको जवाफ छ।
असार ६, २०७९ सोमबार १७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।