पोखरा र भरतपुरका मेयरबीच पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने प्रतिवद्धता

पोखरा : पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालबीच भेटवार्ता भएको छ। भरतपुर महानगरपालिकाको कार्यालयमा भएको भेटवार्तामा स्थानीय तहमा हुने असल अभ्यासको विषयमा छलफल भएको पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए।
उनका अनुसार दुई महानगरपालिकाका प्रमुखले भेटमा पर्यटन प्रवर्द्धन लगायतका विविध विषयमा मिलेर काम गर्ने प्रतिवद्धता जनाएका छन्। पोखरा महानगरपालिकाका प्रमुख आचार्यले पोखरा र भरतपुरबीच यसअघि नै भगिनी सम्बन्ध कायम भइसकेकाले राम्रा कार्यमा सहकार्य कायम रहने र अनुभवहरु आदान-प्रदान गर्नुपर्ने बताए।
उनले पोखरा र भरतपुरबीचमा पर्यटन प्रवर्द्धन र विकास लगायतका विविध पक्षमा सहकार्य अनिवार्य रहेको उल्लेख गर्दै पोखरा आएका पर्यटकलाई भरतपुर र भरतपुर आएका पर्यटकलाई पोखरा आउन प्रेरित गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए।
प्रमुख आचार्य नेतृत्वको पोखरा महानगरपालिकाको ६ सदस्यीय टोलीले भरतपुर महानगरबाट हुने सेवा, अनलाइन प्रणाली, खरिद व्यवस्थापन, योजना लगायतका विषयमा जिज्ञासा राखेको थियो।
भरतपुर महानगर प्रमुख दाहालले पोखराका मेयर सहितको टोलीलाई स्वागत गर्दै पोखराबाट भरतपुर र भरतपुरबाट पोखराले एक अर्काका लागि सहयोगी भूमिका खेल्नुपर्ने बताइन्।
उक्त अवसरमा भरतपुर महानगरको तर्फबाट प्रसाशकीय अधिकृत रामबन्धु सुवेदीसहित शाखा, महाशाखा, प्रमुखहरुले र पोखरा महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले सहजीकरण गरेका थिए।
असार ६, २०७९ सोमबार १६:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।