गगन थापाले आफु प्रधानमन्त्री बन्न धक्का दिने बताउँदा रामकुमारी अलमलिइन्

गगन थापाले आफु प्रधानमन्त्री बन्न धक्का दिने बताउँदा रामकुमारी अलमलिइन्

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आउने निर्वाचनबाट आफू प्रधानमन्त्री बन्न पार्टीमा हस्तक्षेप गर्ने बताएका छन्। सुरजसिंह ठकुरीको कार्यक्रम 'इट्स् माई सो' मा उनले अब आफ्नो राजनीतिक करिअर १० वर्ष मात्र बाँकी रहेको र आफू प्रधानमन्त्रीका लागि योग्य भएको बताए।

सुरजले सहरी विकास मन्त्री समेत रहेकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई पनि प्रधानमन्त्री बन्नेबारे प्रश्न सोधेका थिए। तर उनले प्रस्ट जवाफ दिन सकिनन्। उनले आलटाले जवाफ दिइन्।

तर गगनले भने प्रस्ट अब पाका नेताहरूलाई प्रधानमन्त्रीको दौडमा नलाग्न आग्रह गर्दै भने'अब प्रधानमन्त्री बन्न चाहनेले अबको पाँच वर्षभित्र के गर्ने भनेर तयारी गर्नुपर्छ। त्यस्तो केही गरेको हुने रहेनछ। अहिले हामीले २ वर्षदेखि तयारी गरिरहेका छौँ। अब निर्वाचनमा जाँदा कसले के गर्यो भनेर नजाने अब हामीले सरकार बनाउन सक्यौ भने पाँच वर्षमा के गर्छौ भनेर जाने हो।'

थापाले अबको पाँच वर्ष कसले के परिवर्तन गर्न सक्छ भनेर हेर्नुपर्ने बताउँदै उनले भने' अब पाँच वर्षपछि नेपाल कस्तो बन्छ भनेर कोही आउनुपर्यो। नत्र हामीले तयारी गरिरहेका छौँ। अब प्रधानमन्त्री बन्न आँट गर्नै पर्छ। अब धक्का दिनुपर्छ।'

उनले नेपालका लागि गर्नुपर्ने राजनीतिक परिवर्तन भइसकेकाले अब देश परिवर्तनमा केन्द्रित हुने गरी काम गर्नुपर्ने भन्दै भने' अब २००७ सालमा के भयो २०३६ सालमा गरे अनि २०४६ अनि २०६२-०६३ को परिवर्तन मात्र भनेर हुन्न। अबको पाँच वर्षमा नेपाल कस्तो हुन्छ भनेर भन्न सक्नुपर्छ अब।'

उनले हिजोको दिनमा राजनीतिक परिवर्तनका लागि योगदान दिने नेताहरूप्रति सम्मान रहेको भन्दै अब नयाँ पुस्तालाई अगाडि बढाउने बेला भएको बताए।

'म सानो हुँदा जो-जो नेताहरू हुनुहुन्थ्यो। अहिले पनि उहाँहरू नै हुनुहुन्छ। नेपालको राजनीतिक जमेको पोखरी जस्तो भयो। पोखरीमा पानी जम्यो भने लेउ लाग्छ। कि उहाँहरू अद्भुत हुनुपर्यो। उहाँहरू नहुँदा ठुलै समस्या आउने हुनुपर्यो। नत्र अब छाड्नुपर्यो।'

उनले सिनियर नेताहरूलाई ससम्मान अब युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर अभिभावकियक भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

'यता गए पनि उही मान्छे। उता गए पनि उही मान्छे। पार्टी विभाजन भए पनि उही अनि गठबन्धन बने पनि उही। यसले आम नागरिकमा उकुसमुकुस भएको छ,' थापाले भने। उनले पार्टीको १४ औँ महाधिवेशनमा पार्टीको नेतृत्व बदल्न प्रयास गरेको तर असफल भएको बताएका थिए।

झाँक्रीले २०६२-०६३ को आन्दोलनमा आफ्नो पुस्ताले नेतृत्व गरे पनि त्यसपछि पनि पुरानै नेताहरू नेतृत्वमा आएको भन्दै पार्टीगत संरचनाका कारण युवा पुस्ता अगाडि बढ्न नसकेको बताइन्।

'यहाँ कोसँग के योजना र क्षमता छ भन्दा पनि कुन पार्टीमा लागेको कति वर्ष भयो भन्ने आधारमा मूल्याङ्कन हुने भएकाले नयाँ पुस्ता अगाडि बढ्न सकेनन्। तर अब बिस्तारै त्यसमा परिवर्तन हुन जरुरी छ। परिवर्तन भइरहेका छन्,' उनले भनिन्।

असार ६, २०७९ सोमबार १५:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।