वैशाख १ देखि असार ५ गतेसम्म विपद्बाट ७३ जनाको मृत्यु

काठमाडौंः तीन महिनाको अन्तरालमा विपद्बाट हालसम्म ७३ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी चट्याङबाट २७ जनाको मृत्यु भएको छ भने आगलागीबाट १५ जनाको ज्यान गएको छ।
यस्तै जङ्गली जनावरको आक्रमणबाट १०, पहिरोबाट आठ, हुरीबतासबाट आठ, सर्पदंशबाट तीन र बाढीबाट दुई जनाको मृत्यु भएको जनाइएको छ। यो अवधिमा भएको भौतिक क्षतिको तथ्याङ्क भने यकिन भएको छैन।
प्रकोप पूर्वतयारी सञ्जाल (डीपीनेट)ले सञ्चारकर्मीका लागि आयोजना गरेको ‘पूर्वसूचना प्रणालीमा सञ्चारको भूमिका’ विषयक अन्तरक्रियामा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठनका पूर्वउपकूलपति प्रा. डा. जीवराज पोखरेल, मौसमविद् एवं डिपिनेटका प्राविधिक सल्लाहकार डा. धरमराज उप्रेती, पूर्वशिक्षामन्त्री डा. गङ्गालाल तुलाधर लगायतको उपस्थिति थियो।
डा, तुलाधरले कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई स्वायत्त, अधिकारसम्पन्न र साधनस्रोत सम्पन्न नबनाएसम्म विपद् व्यवस्थापनलाई प्रभावकारी तुल्याउन नसकिने बताए।
यस्तै डीपीनेटका कार्यवाहक अध्यक्ष डा. राजु थापाले प्राकृतिक विपद्का दृष्टिले नेपाल विश्वमै उच्च जोखिमपूर्ण अवस्थामा रहेकाले यसबाट हुने क्षति न्यून गर्न राजनीतिक नेतृत्त्वदेखि समुदायस्तरसम्म प्रभावकारी सूचना सम्प्रेषणमा जोड दिन आवश्यक रहेको बताए।
असार ६, २०७९ सोमबार १२:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।