एन्फाको नेतृत्त्व चयनका लागि आज निर्वाचन, अध्यक्षका लागि तीन जना प्रतिस्पर्धामा

एन्फाको नेतृत्त्व चयनका लागि आज निर्वाचन, अध्यक्षका लागि तीन जना प्रतिस्पर्धामा

काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यसमितिको निर्वाचन आज हुँदैछ। निर्वाचनले आगामी चार वर्षको लागि नयाँ नेतृत्त्व चयन गर्नेछ।

निर्वाचन कार्यतालिकाअनुसार बिहान ९ बजे उद्घाटन सत्र रहेको छ। त्यसपछि मतदान प्रक्रिया हुनेछ।

एन्फाको बागडोर सम्हाल्न वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलसहित प्रतिस्पर्धामा छन्।

यस्तै फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीवराज पौड्यालले पनि प्रतिस्पर्धा गर्ने भएका छन्।

शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा, दीर्घबहादुर केसी (कुमार), रत्नकुमार श्रेष्ठ उम्मेदवार छन्। १३ जना सदस्यका उम्मेदवार छन्। दुई जना महिला सदस्य पदमा पेमा डोल्मा लामा र बिना क्षेष्ठ उम्मेदवार छन्।

नेम्वाङ प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, उपाध्यक्षमा विराटजंग शाही, दावा लामा, दीपक खतिवडा र सुन्दरनरसिंह जोशी उम्मेदवार छन्। १३ जना सदस्यका उम्मेदवार छन् भने महिला सदस्यमा विन्द्रा देवान र सरिला श्रेष्ठ छन्।

यस पटकको एन्फा निर्वाचनमा मतदाताको सङख्या ८४ रहेको छ। एन्फाको जिल्ला कमिटी, राष्ट्रिय लिगमा छनोट भएका मोफसलका चार क्लब, एन्फाका चार संघ (महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघ), ए, बी र सी डिभिजन क्लब मतदाता हुन्।

यसअघि ४५ जिल्ला मतदान प्रक्रियामा सामेल भए पनि यसपटक भक्तपुर, सिन्धुली र सिरहाको मताधिकार बदर भएको छ।

यस्तै १४ ‘ए’ डिभिजन क्लब, ११ ‘बी’ डिभिजन क्लब र ९ ‘सी’ डिभिजन क्लबले मताधिकार प्रयोग गर्न पाउनेछन्।

एन्फा चुनावको माहोलबाट गुज्रिरहँदा फुटबल प्रतियोगिता प्रसारणको आवरणमा अनलाइन जुवा खेल्ने अनुमति दिएको सार्वजनिक भएको छ। अध्यक्ष कर्मा छिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरले स्विट्जरल्याण्डको एक कम्पनीलाई नेपालमा आयोजना हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रसारणसँगै त्यसको अडियो र भिडियो सहितको डेटालाई अनलाइन जुवा खेलाउन समेत पाउने गरी सम्झौता गरेकोबारे शुक्रवार उकेराले सम्झौता पत्र सहित समाचार प्रकाशित गरेको थियो।

असार ६, २०७९ सोमबार ०८:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।