पेट्रोलमा एकै पटक २१ रुपैयाँ बढ्यो, लिटरको १९९

पेट्रोलमा एकै पटक २१ रुपैयाँ बढ्यो, लिटरको १९९

काठमाडौँ : विश्व बजारमा इन्धनको भाउ बढेको भन्दै नेपाल आयल निगमले एक लिटरमै पेट्रोलको २१ रुपैयाँ बढाएको छ। डिजेल र मट्टितेल प्रतिलिटर २७ रुपैयाँले बढाएको छ। 

यो असार ५ गते राती १२ बजेदेखि लागू हुने छ। मूल्यवृद्धिसँगै पेट्रोलको मूल्य एक लिटरको १९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १९२ रुपैयाँ पुगेको छ।

हवाई इन्धन आन्तरिकतर्फ लिटरमा १९ रुपैयाँले बढाएर १८५ रुपैयाँ पुर्याएको छ भने बाह्यतर्फ प्रतिकिलोलिटर एक सय अमेरिकी डलरले बढाएर १६४५ डलर पुर्याएको छ। एलपी ग्यासको मूल्य भने तत्काललाई यथावत् राखेको छ। 

इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी गर्न बाँकी बक्यौता असार ९ मा २२ अर्ब पुग्ने देखिएको र खरिद लागत नै बढ्नै जाँदा निगम चरम आर्थिक सङ्कटबाट गुज्रिरहेकाले आइतबारको सञ्चालक समिति बैठकबाट निर्णय गरेर मूल्य यसअनुरूप बढाएको निगमले बताएको छ। 

यसअघि जुन १६ मा आईओसीबाट आएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य औसतमा प्रतिलिटर ६.५२ रुपैयाँ, डिजेल १९.०३ रुपैयाँ र हवाई इन्धन १९.९१ रुपैयाँले बढेर आएको निगमले जनाएको थियो। 

उक्त नयाँ लागत मूल्य अनुसार निगमको मासिक १५ दिनको घाटा करिब ४ अर्ब ८२ करोड रुपैयाँ पुग्ने विज्ञप्तिमा उल्लेख छ।

मूल्य समायोजनपछि अब यो घाटा आधाभन्दा धेरैले घटेर दुई अर्ब ३५ करोडमा झरेको निगमले उल्लेख गरेको छ।

असार ६, २०७९ सोमबार ००:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।