ताप्लेजुङमा पहिरोले बगायो आठ घर

ताप्लेजुङमा पहिरोले बगायो आठ घर
फाइल तस्बिर

ताप्लेजुङः निरन्तरको वर्षाले ताप्लेजुङमा आठ घर पहिरोले बगाएको छ। जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार गत विहीबारदेखि परेको वर्षाका कारण सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिराले बगाएको छ।

त्यहाँ ३५ घरपरिवार विस्थापित हुन पुगेका छन्। गाउँपालिकाका उपाध्यक्ष चित्र माबोका अनुसार विस्थापित परिवार हाल सुरक्षित स्थानमा छन्। गत शुक्रबार सिरिजङ्गामा पहिरोमा परी दुई जनाको मृत्यु भएको थियो।

त्यस्तै मिक्वाखोला गाउँपालिकामा तीन घर पहिराले बगाएको विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए।

यता फक्ताङलुङ गाउँपालिका–२ खेजिनेम गाउँमा दुई घर पहिरोले बगाएको छ। त्यहाँ ३० घरपरिवार विस्थापित हुन पुगेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए।

हाल निरन्तरको वर्षाले गाउँ–गाउँका बस्ती उच्च जोखिम छन्। सदरमुकामबाट गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमा समेत समस्या हुँदै आएको विपद् व्यवस्थापन समितिले जनाएको छ।

असार ५, २०७९ आइतबार ११:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।