हात्तीको आक्रमणबाट नदीमा तटबन्धको काम गरिरहेकी महिलाको मृत्यु

कैलालीः टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नं १५ की ५० वर्षीया टङ्क सोडारी रहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
कर्णाली नदी किनार सनकट्टीघाटमा शनिबार साँझ जङ्गलबाट निस्केका दुई हात्तीले सोही नदीमा भइरहेको तटबन्धमा मजदुरी गरिरहेकी सोडारीलाई आक्रमण गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।
नदी किनारमा तटबन्धका लागि तीन महिला ढुङ्गा सङ्कलन गरिरहेका थिए। एक्कासि दुई वटा हात्ती नजिकै देखेपछि दुई महिला भागे पनि सोडारीलाई हात्तीले लछारपछार गरी, खुट्टा भाँचेर मारेको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जनाएकोे छ।
पछिल्लो समय कैलाली, बर्दिया जिल्लामा जङ्गली जनावरको आक्रमण बढ्दै गएको छ। यसबाट जङ्गल आसपासमा भएका क्षेत्रमा बर्सेनि दर्जनौँ मानिसको ज्यान जाने गरेको छ।
असार ५, २०७९ आइतबार ०७:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।