बेंसीशहर–चामे सडक पहिरोले अवरुद्ध

बेंसीशहर–चामे सडक पहिरोले अवरुद्ध
साङ्केतिक तस्बिर

काठमाडौंः बेंसीशहर-चामे सडक पहिरोका कारण पुनः अवरुद्ध भएको छ। शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको यस सडकमा अविरल वर्षासँगै बेंसीशहर–६ खरखरे भीरमा आज बिहान पहिरो जाँदा पुनः अवरुद्ध भएको हो।

खरखरे भीरमा ठूला–ठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध बनाएको छ। यात्रुहरू बिहानैदेखि अलपत्र परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले बताए।

प्रहरीका अनुसार १०/१५ मिटर सडक नै अवरुद्ध बनाएको छ। सोही वडाको बेलौती बिसना नजिकै पनि पहिराले सडक अवरुद्ध बनाएको छ। 

यतिबेला डुम्रे–बेंसीशहर–चामे सडक योजना कार्यालय लमजुङको स्काभेटरले खुलाउने प्रयास गरे पनि कति समय लाग्ने यकिन नभएको बताइएको छ। बेंसीशहर-चामे सडक लमजुङ र मनाङ जिल्ला जोड्ने एकमात्र सडक हो।

असार ४, २०७९ शनिबार ११:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।