कर्मचारीमाथि अश्लील गाली वर्षाएका मन्त्री आले भन्छन्- कुनै पनि कर्मचारीलाई दुर्व्यवहार गरिएको छैन

काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नगरेको स्पष्टीकरण दिएका छन्। अन्नपूर्ण पोस्टले शुक्रबार सार्वजनिक गरेको एक अडियोमा भने मन्त्री आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि अश्लील गाली गरेको प्रष्ट सुनिन्छ।
मन्त्री आलेले विभिन्न सञ्चारमाध्यममा आफूले कार्यकारी अध्यक्षमाथि हातपात गरेको भन्दै सम्प्रेषण गरेको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै भने- 'समाचारमा उल्लेख भएजस्तो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बोलाइ मातहतका कुनै पनि कर्मचारीलाई दुर्व्यवहार तथा हातपात गरिएको छैन र यस विषयलाई जोडेर आएको समाचार सत्य होइन। यसबारेमा हाम्रो मन्त्रालय र सिंहदरबार परिसरमा रहेका सीसीटीभी क्यामेरा हेर्दा पनि प्रष्ट हुन्छ। आवश्यक परे मन्त्रालय र प्रशासनले सीसीटीभीका फुटेज उपलब्ध गराउन सक्नेछ।'
जापानलगायतका गन्तव्यमा सर्वसाधारण, विद्यार्थी तथा भारतमा उपचारमा जाने बिरामीले टिकट सहजै नपाउने, निगमकै कारण बजारमा कृत्रिम अभाव गराई आफू निकट एजेन्सीबाट मात्रै टिकट बिक्री गर्ने गरेको भन्ने गुनासो अत्यधिक आएपछि स्थानीय तहको चुनावअघि नै कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधिएको र त्यसपछि पनि सचेत गराउने काम भने जारी नै रहेको आलेले बताए।
तर, मन्त्रालयले स्पष्टीकरण सोध्ने भएपछि त्यसलाई रोक्न धेरै शक्ति केन्द्रबाट कार्यकारी अध्यक्षले उल्टै आफूमाथि अनैतिक दबाब दिएको आलेले उल्लेख गरे।
आफ्नाविरुद्धमा निरन्तर प्रचारमा लागेका केही व्यक्तिहरूले आफूलाई बदनाम गर्न समाचार लेखाएको आरोप पनि उनले लगाए।
असार ४, २०७९ शनिबार ०८:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।