एमाले अध्यक्ष ओलीसँग गृहमन्त्री खाँण र कानुन मन्त्री शर्माको भेट, नागरिकता विधेयकबारे कुराकानी

एमाले अध्यक्ष ओलीसँग गृहमन्त्री खाँण र कानुन मन्त्री शर्माको भेट, नागरिकता विधेयकबारे कुराकानी

काठमाडौँ : एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले भेट गरेका छन्।

ओली निवास बालकोटमा भएको भेटमा नागरिकता विधेयक चालु संसद्मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको छ। 

‘नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने प्रयासस्वरुप म र कानुन मन्त्री प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएका थियौँ। कुराकानी सकारात्मक भएको छ,’ गृहमन्त्री खाँणले भने।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गरेर पास गर्ने तयारी गरिरहेको छ। त्यसकै लागि गृहमन्त्री खाँण र कानुन मन्त्री शर्माले एमाले अध्यक्ष ओलीलाई भेटेका हुन्।

गृहमन्त्री खाँणले नागरिकता विधेयकबारे पटक-पटक दलहरूसँग छलफल गरेका छन्।

उनीहरूले यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि नागरिकता विधेयक सदनमा दलीय सहमतिमा पेस गर्न सहमति जुटाउन भेटिसकेका छन्।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ। 

नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने अंगिकृत नागरिकता लगायतमा दलहरूबीच सहमति जुट्न सकेको छैन।

असार ३, २०७९ शुक्रबार २०:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।