विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीले ६ करोड भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ : विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीलाई अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रु. ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।
उनी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक थिए।सरकारी पदमै भएको बेला उनले विध कम्पनी सञ्चालन गरेका थिए।
२०७३/०६/२१ मा रा.प.अनं. प्रथम श्रेणी वरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरी मिति २०७७/०४/०१ मा स्वेच्छिक अवकाश भएको र सेवा प्रवेश गरेको मितिदेखि २०७८ पुस मसान्तसम्मको आम्दानी/खर्चलाई अख्तियारले आधार मानेको थियो।
आय-व्यय गणना गर्दा भीमकान्त भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी सञ्चय कोषबाट लिएको ऋण सापटी, निज सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधिअघिको बचत) समेत गरी जम्मा रु.२६,६१,६३६।०९ आय आर्जन गरेको, खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, बिभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको सेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दात समेत गरी जम्मा रु. ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको थियो।
उनको कुल आय आर्जन रु. २६ लाख ६१ हजार ६ सय ३६ रुपैयाँ गरेको कुल खर्च तथा लगानी (व्यय) घटाउँदा हुन आउने रु. ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुलेको थिएन।
भण्डारीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको हुँदा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेकोले निज भीमकान्त भण्डारीलाई बिगो रु. ६ करोड २४ लाख चार हजार ६ रूपैयाँ ४४ पैसा बिगो कायम गरी कैद गर्न माग गरिएको छ।
प्रभावमा पार्दै काम गर्दै
पीपीई, डिजिटल थर्मोमिटर, आरडीटी किट लगायतका सामग्री खरिदका लागि सम्झौता गरिएका पाँच कम्पनीमध्ये सबभन्दा धेरै रकमसहित कोरोना परीक्षणका लागि आरडीटी किट खरिदको जिम्मा काठमाडौंको बानेश्वरमा कार्यालय रहेको विध म्यानेजमेन्ट प्रालिलाई दिइएको थियो।
विधले आरडीटी किट खरिद गर्न तीन महिनाको बीचमा स्वास्थ्य सेवा विभागबाट कुल रु.२२ करोड ८५ लाख ६१ हजार ५६० को ठेक्का पाएको थियो।
असार ३, २०७९ शुक्रबार १९:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।