जेठ २७ देखि अनशन बसेकी निहारिका र सरकारबीच पाँच बुँदे सहमति

जेठ २७ देखि अनशन बसेकी निहारिका र सरकारबीच पाँच बुँदे सहमति

काठमाडौंः न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि काठमाडौंमा आमरण अनशनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका–९ की सोनालीकुमारी सिंह (निहारिका राजपुत) र सरकारकारबीच पाँच बुँदे सहमति भएको छ। सहमतिपछि गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस खाएर गए राति निहारिकाले अनशन तोडेकी छिन्।

राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सहमति भएको हो। सहमतिमा प्रतिवादी शिवराम श्रेष्ठ र अनशनकर्ता निहारिकाका छोराको डीएनए परीक्षणको कानूनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनशनकर्ता र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनशनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, राज्यका सम्पूर्ण निकायका कानून पीडितमैत्री बनाउन पहल गर्ने उल्लेख छ।

सहमतिपत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनशनकर्ता निहारिकाले हस्ताक्षर गरेका छन्।

यसअघि संसद् बैठकमै पनि निहारिकाको माग सम्बोधन गर्न न्याय दिन आवाज उठेको थियो।

निरहारिकाका अनुसार उनी १७ वर्षको हुँदा धनुषाको क्षिरेश्वर नगरपालिका–३ का शिवराज श्रेष्ठले औषधि खुवाएर लठ्याएर उनलाई बलात्कार गरेका थिए। उनका अनुसार त्यही कारण उनी गर्भवती भएकी र छोरा जन्मिएको थियो।

असार ३, २०७९ शुक्रबार ०९:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।