दक्षिण अफ्रिकाबाट एक अर्ब बराबरको ४९ किलो सेतो होरोइन नेपाल भित्र्याए सात महिलाले, कहाँ जान नेपाल आएका थिए खुलाइएन

काठमाडौँ : नेपाल सेतो हेरोइनको ठुलो बजार हैन। तर यहाँ पटक-पटक सेतो हेरोइनसहित कारोबारी पक्राउ पर्नु नौलो घटना हैन। हवाईसँगै स्थलमार्गबाट नेपाल भित्रिएका विदेशी नागरिक अनि कहिलेकाहीँ नेपाली नागरिकहरू समेत पटक-पटक समातिने गरेका छन्।
जति सेतो हेरोइन सहित कारोबारी पक्राउ परेका थिए उनीहरू नेपाललाई ट्रान्जिट बनाउन आएको देखिन्थ्यो। नेपाल भित्रिने अधिकांश सेतो हेरोइन पाकिस्तान अनि अफगानिस्तानको देखिन्थ्यो। लागुऔषध नियन्त्रण ब्युरोले यो साता कारोबारीका आधारमा मात्रै हैन बरामद परिणामको आधारमा पनि अहिलेसम्मकै सबैभन्दा ठुलो ४९ किलो सेतो हेरोइनसहित सात जना विदेशी नागरिक पक्राउ गर्यो।
पक्राउ परेकाहरू सबैको नेपाल आउने यात्रा विन्दु साउथ अफ्रिका देखिएको छ भने। अधिकांशले दुबईलाई ट्रान्जिट बनाएका छन्। कतिपयले कतारको दोहालाई ट्रान्जिट बनाएर नेपालसम्म आइपुगेका छन्।
ब्युरोले बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको विवरण अनुसार बरामद सेतो हेरोइनको अन्तर्राष्ट्रिय बजार मूल्य एक अर्ब बराबरको छ। ब्युरोका प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार पक्राउ परेका सातै जना दक्षिण अफ्रिकी नागरिक हुन्। प्रहरीले बिहीबार सार्वजनिक गरेको हेरोइनमा ४९ किलो सेतो र २ किलो खैरो हेरोइन छ।
ब्युरोले सार्वजनिक गरेको नामहरूमा सिबिसी थान्डेकिले, मुरिएल केदुकवाजी थेम्बेनी न्साम्बा, त्साबाला खान्यिसिल इभोन्ने, रोसिन्हा नोन्केल तान्त्जो, महलाको मौरीन माथिबा, मोरोएसी सुजना कोफ र मार्लिज बोडेनहोस्ट रहेका छन्।
प्रहरीले उनीहरूलाई पक्राउ गर्न जेठ २६ बाट सुरु गरेको देखिन्छ। सो दिन २९ वर्षीया महलाको मौरीन माथिबा काठमाडौँ आइपुगेकी थिइन्। दक्षिण अफ्रिकाबाट दुबई हुँदै काठमाडौँ आइपुगेकी उनी भिजिट भिसामा आएकी थिइन् भने उनको नेपाल यात्रा पनि पहिलो हो।
उनी काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएर सिधै होटलमा पुगिन्। उनका लागि पहिल्यै होटेल बुक गरिएको थियो। जेठ ३० मा उनी पक्राउ परिन्।
२९ गते दुबईबाट काठमाडौँ आएका सिबिसी थडेकिले र मुरियल भन्ने एक महिला १८ केजी हेरोइनसहित नेपाल आएका थिए। त्यसपछि पनि दक्षिण अफ्रिकी महिलाहरू नेपाल आउने क्रम रोकिएन। उनीहरू मौरिन जसरी नै हेरोइन बोकेर नेपाल आइरहे।
अनि सिधै पहिल्यै बुक गरिरहेको होटलमा पुगे। जेठ ३० गते दुबई हुँदै ३९ वर्षीय दक्षिण अफ्रिकी महिला तसबला खानयिसिल यवोन र ३६ वर्षीय रोसीना नोकले जत्जी आए। उनीहरूले ८-८ किलो हेरोइन बोकेका थिए।
प्रहरीले शङ्का लागेर निगरानी गरेर पक्राउ गरेको दाबी गरे पनि यस्तो प्रकारको प्रहरी कारबाही अन्तर्राष्ट्रिय समन्वयनका आधारमा हुने गरेको छ। ब्युरोले पत्रकार सम्मेलनमा पटक-पटक दक्षिण अफ्रिकी महिला नेपाल आएकाले शङ्का लागेर निगरानीमा राखेर पक्राउ गर्दा हेरोइन फेला परेको दाबी गरेको छ।
लागुऔषध नियन्त्रणमा सक्रिय अन्तर्राष्ट्रिय नेटवर्कहरूले ठुलो परिणाममा लागुऔषध कारोबारीहरूलाई पक्राउ गर्न बाई एन्ड ब्रस्ट सूत्र समेत अपनाउने गरेको देखिन्छ। बिहीबार सार्वजनिक भएकाहरूको सङ्ख्या र बरामद हेरोइनको परिणामले यो अन्तर्राष्ट्रिय सहकार्य देखिए पनि ब्युरोका अधिकारीहरूले भने यसबारे केही उल्लेख गरेका छैनन्।
कहाँ लैजाँदै थिए यत्रो हेरोइन
नेपाली लागु औषधको बजारमा खैरो हेरोइन विक्री हुने गरेको देखिए पनि सेतो हेरोइनको कारोबार तल्लो तहसम्म पुगिसकेको खुलेको छैन। मुल्यका कारण समेत नेपालमा रहेका दुर्व्यसनमा संलग्न प्रायले सेतो हेरोइन सेवन गर्ने गरेको विरलै मात्र भेटिने भएकाले दक्षिण अफ्रिकी महिलाहरूले बोकेर नेपाल ल्याएको हेरोइनको लक्षित देश नेपाल देखिन्न।
अधिकांश लागु औषध कारोबारहरूले नेपाललाई ट्रान्जिट बनाएर भारत या अन्य देश हुँदै युरोप र अमेरिकामा लागुऔषध पूर्याउन नेपाल आउने गरेको देखिन्छ। यस अगाडि अफ्रिकी देशहरूबाट नेपालमा कोकिन भित्रिने गरेको थियो। पछिल्लो समय भने कोकिन रोकिएको थियो। अहिले हेरोइन फेला परेको छ।
तर ब्युरोले सार्वजनिक गरेको विवरणमा उनीहरू आएको देश अनि ट्रान्जिटसम्म उल्लेख गरे पनि नेपालपछि उनीहरू कहाँ जाने योजना बनाएर आएको उल्लेख नगरेकाले लागु औषधको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय समूहको चेन ब्रेक गर्न बाइ एन्ड ब्रस्ट सूत्र मार्फत उनीहरू नेपाल आएको हुनसक्ने देखिन्छ।
के हो 'बाई एन्ड ब्रस्ट' सूत्र ?
प्राय सङ्गठित अपराधको जालो भत्काउन सुरक्षाकर्मीहरूले यो सूत्र अपनाउने गरेको देखिन्छ। लागुऔषध अनि अवैध हतियार कारोबारमा अधिकांश यही सूत्र अपनाउने गरेको देखिन्छ। यसमा सुरक्षाकर्मी वा सुरक्षाकर्मीका सहयोगी आफैँ कारोबारी बनेर यस्ता कारोबारीको सम्पर्कमा पुग्ने र सामान मगाउने गरिन्छ।
सामान मगाउँदा शङ्का नहुने स्थान वा देशमा मगाइन्छ। कारोबारी विश्वस्त भएर लागुऔषध या हतियारसहित आफ्ना व्यक्ति पठाएपछि सुरक्षाकर्मीले पक्राउ गर्ने गर्छन्। यसमा पहिले आफैँ कारोबारी भएर लागुऔषध कारोबारीसम्म पुग्नुपर्ने भएकाले आर्थिक लगानीदेखि विश्वासयोग्य खरिदकर्ताको छवि हुनु अनिवार्य हुन्छ।
नेपालमा पनि लागुऔषध र हतियारमा यो सूत्र अपनाएर कारोबारी पक्राउ गर्ने गरिएको छ। अवैध हतियारको केसमा त केही प्रहरी अधिकारीले आफ्नो काम देखाउन भारतदेखि हतियार मगाएर काठमाडौँमा पक्राउ गरेका घटना समेत सार्वजनिक भएका थिए।
असार २, २०७९ बिहीबार २०:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।