देउराली सहकारी बचतकर्ताको रकम जोखिममा, सञ्चालकले कारोबार बन्द गरे

ललितपुर : ललितपुरको सात दोबाटोमा रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले एकाएक कारोबार बन्द गरेको सूचना निकालेपछि निक्षेप डुब्ने डरले बचतकर्ताहरू सहकारीको कार्यालयमा धाउन थालेका छन्।
तरलता अभाव झेलिरहेको संस्थाले एकाएक फेसबुकमा कारोबार बन्द हुने सूचना जारी गरेपछि बचतकर्ताहरू कार्यालयमा भेला हुन थालेका हुन्। संस्थाले निकालेको सूचनामा शुक्रवारसम्मलाई आर्थिक कारोबार बन्द गरिएको भनिएको छ।
लामो समयदेखि संस्थाले बचतकर्ताको पैसा गर्न आलटाल गर्दै आएपछि बचतकर्ता प्रहरी कार्यालयसम्म पुगेका थिए। एक महिना अगाडि नै महानगरीय प्रहरी प्रभाग ललितपुरमा पुगेर सहकारीले आफ्नो पैसाको सुरक्षा नगरेको, बचत निकाल्न खोज्दा समेत रकम नपाइएको गुनासो गरेका थिए।
प्रहरीले उनीहरूलाई उजुरी लिएर आउन भनेर फर्काएको थियो। तर पछि बचतकर्ताहरू आएनन्। प्रभागका डिएसपी मदन केसीका ३५ जना जति बचतकर्ता प्रहरी कार्यालयमा आएका थिए।
उनले भने, ‘हामीले जाहेरी लिएर आउनुस् भनेका थियौँ। पछि उहाँहरू आउनु भएन।’
संस्थाले सहकारी विभागको निर्देशन विपरीत आकर्षक ब्याजदरको प्रलोभनमा पारेर निक्षेप र बचत सङ्कलन गरेको आरोप छ। पैसाको अभाव भएको भन्दै केही दिनदेखि नै संस्थाले बढीमा २५ हजार रुपैयाँसम्म मात्र बचत फिर्ता गरिरहेको थियो।
संस्थाको कुल वासलात करिब ३ अर्ब रुपैयाँ रहेको छ। सदस्यहरूबाट उठाएको अधिकांश बचत सञ्चालनले नियमविपरित व्यक्तिगत फाइदामा चलाउँदा संस्था आर्थिक सङ्कटमा परेको जानकार बताउँछन्।
असार २, २०७९ बिहीबार १८:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।