संसद्मा खोजी हुँदा प्रधानमन्त्री देउवा एनआरएनएको कार्यक्रमको लागि होटलमा

संसद्मा खोजी हुँदा प्रधानमन्त्री देउवा एनआरएनएको कार्यक्रमको लागि होटलमा

काठमाडौँ : जनताको आवाजको थलो प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको खोजी भइरहँदा देउवा भने संसद् बाहिर अन्य कार्यक्रममा व्यस्त थिए। रक्षा मन्त्रालयको कमान्ड सम्हालेका प्रधानमन्त्री देउवाले सो मन्त्रालय र प्रधानमन्त्री कार्यालयका लागि विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने थियो। तर प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई जवाफ दिने जिम्मा लगाएर आफू भने एनआरएनको कार्यक्रममा दौडिए।

संसद्मा प्रधानमन्त्रीको तर्फबाट जवाफ दिन गृहमन्त्री खाँण उपस्थित थिए। प्रधानमन्त्री अनुपस्थितको सूचना समेत नदिएर सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री खाँणलाई रोष्टममा बोलाए। त्यसपछि नेमकिपाका सांसद प्रेम सुवालले नियमापत्ति जनाए।

आफ्नो विभागीय मन्त्रालयको बजेटमाथि जवाफ दिन प्रधानमन्त्री नै आउनुपर्ने सुवालको माग थियो। ‘प्रधानमन्त्रीज्यू किन उपस्थित हुन सक्नुभएन ? बिरामी हुनुभयो कि, विदेश जानुभयो कि कुनै अस्पतालमा भर्ना हुनुभएको छ ? यो गरिमामय संसद्मा उहाँ किन आउनुभएन ? सामान्य बैठक देखाएर संसद् छाड्न मिल्दैन’, सुवालले प्रश्न गरे।

सुवालको सवाललाई सभामुखले चिठीको बहाना देखाएर पार लगाए। ‘सांसदलाई जानकारी आएको छ। चिठी आएको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले कार्य व्यस्तताका कारण माननीय गृहमन्त्री बालकृष्ण खाँणलाई तोकेको ब्यहोरा जानकारी गराउँछु’, सापकोटाले भने।

सुवाल रोएिनन् उनले प्रश्न उठाइरहे तर माइक काटियो। गृहमन्त्री खाँणले आफ्नो काम फत्ते गरे।

सांसदले खोजिरहँदा प्रधानमन्त्री देउवा गैर आवासीय नेपाली सङ्घले आयोजना गरेको सम्मेलनको समापनका लागि र्याडिसन होटलमा आयोजना हुने कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका थिए। संसद् बैठक १ बजेको लागि बोलाइएका थियो।

प्रधानमन्त्री देउवा ११ बजेतिर चेम्बर अफ कमर्सले आयोजना गरेको व्यापार मेलाको उद्घाटन गर्न भृकुटिमण्डममा पुगेका थिए। संसद् बैठक चलिरहँदा प्रधानमन्त्री देउवा पाँचतारे होटलमा भइरहेको नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार सेमिनारमा प्रमुख अतिथिको रूपमा सहभागी थिए।

असार २, २०७९ बिहीबार १६:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।