विवादित टेलिभिजनकर्मी रवि लामिछाने पनि राजनीतिमा आउने

काठमाडौँ : रहरले सञ्चारकर्मी बनेको तर परिस्थितिले राजनीतिज्ञ बन्नुपर्ने भएको भन्दै विवादास्पद टेलिभिजनकर्मी रवि लामिछाने पूर्णकालीन राजनीतिमा सहभागी हुने भएका छन्। उनले आफ्नो समेत लगानी रहेको ग्यालेक्सी टेलिभिजनबाट अलग भएर अब संसदीय राजनीतिमा सहभागी हुने घोषणा गरेका छन्।
उनले परिस्थितिले आफूलाई सक्रिय राजनीतिमा आउनुपरेको दाबी गरेका छन्। आगामी संसदीय राजनीतिमा सहभागी हुने तयारी गरेका उनले आफू उम्मेदवार बन्ने क्षेत्र भने खुलाएका छैनन्। उनले असार ७ गते राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर आफ्ना सबै धारणाहरू सार्वजनिक गर्ने बताएका छन्।
मनोरञ्जन कार्यक्रम हुँदै अमेरिका पुगेका उनी नेपाल फर्किएर टेलिभिजन कार्यक्रम सञ्चालन गरेर चर्चामा आए पनि उनको पृष्ठभूमि भने विवादरहित छैन। श्रीमती हुँदाहुँदै डिभोर्सै नगरी प्रेमिका राख्नेदेखि लिएर आफ्नै सहकर्मीलाई आत्महत्या गर्न बाध्य बनाएको मुद्दासम्म खेपिसकेका छन् उनले।
टेलिभिजन कार्यक्रम सञ्चालन गर्दा बार्गेनिङ गरेको, अमेरिकी नागरिकको रूपमा नेपालमा भिसा लिएर बस्दा श्रम स्वीकृति नलिई न्युज२४ टेलिभिजनमा काम गरेको लगायतका विवादमा समेत परेका थिए उनी।
पारिवारिक पृष्ठभूमिका कारण विवादमा आइरहने उनी पछिल्लो समय चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा राप्रपाका नेता उद्धव पौडेलकी छोरी निकिता पौडेलसँग विवाह गरेका छन्।
उनी निकटहरूका अनुसार उनी काठमाडौँकै कुनै संसदीय निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने रणनीतिमा छन्। तर उनी कुन क्षेत्रबाट उम्मेदवार बन्ने त्यो निश्चित भइसकेका छैनन्। उनले काठमाडौँ क्षेत्र नम्बर १ मा उम्मेदवार बन्ने तयारी गरेका थिए। सो क्षेत्रमा पुकार बम र पूर्व डिआइजी रमेश खरेलले उम्मेदवारी घोषणा गरेपछि उनी अब क्षेत्र नम्बर ३ हेरिरहेका छन्।
क्षेत्र नम्बर २ काँठ क्षेत्र रहेकाले त्यहाँ स्वतन्त्रको रूपमा भोट स्विङ गराउन गाह्रो छ। क्षेत्र नम्बर ४ मा काङ्ग्रेसबाट गगन थापा उठ्दै आएका छन्। स्वतन्त्र उम्मेदवारका लागि उर्वर देखिएको क्षेत्र नम्बर ५ मा रञ्जु दर्शनाले उम्मेदवारी घोषणा गरिसकेकी छिन्।
क्षेत्र नम्बर ३ मा नेपाली काङ्ग्रेसबाट बलियो उम्मेदवार छैन। चक्रबहादुर ठकुरीको मृत्युपछि त्यहाँ उनका छोरा विमल ठकुरी सक्रिय छन्। तर जनाधार बलियो बनाउन सकेका छैनन्। सो क्षेत्रमा एमालेको राम्रो प्रभाव देखिन्छ। एमाले र एकीकृत समाजवादीबिच प्रतिस्पर्धा हुँदा फाइदा हुनसक्ने उनको आङ्कलन हुनसक्छ।
असार २, २०७९ बिहीबार १६:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।