ओलीले माइकमा हिर्काएर ब्युँझाए निदाएका जनप्रतिनिधि

ओलीले माइकमा हिर्काएर ब्युँझाए निदाएका जनप्रतिनिधि

काठमाडौंः आज र भोलि एमालेको स्कुल विभागले जनप्रतिनिधिहरूको लागि प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम राखेको छ। आजको कार्यक्रमका प्रमुख अतिथि पार्टी अध्यक्ष केपी शर्मा ओली।

ओलीले प्रशिक्षणमा भाषण गरिरहेका थिए। उनी भन्दै थिए, 'सत्ता साझेदारका मित्रहरू भन्छु मैले सभ्य भाषामा। धाँधलीबाजहरू हुन् यिनिहरू, विश्वासघातीहरूलाई त्यस्तै किसिमले जवाफ दिनुपर्छ।'

यत्तिकैमा उनले हलमा सहभागीहरू निदाएको भेउ पाए। छेउमा मञ्चमै बसिरहेका महासचिव शंकर पोखरेल पनि निदाएको जस्तै देखिन्थे।

ओलीले जनप्रतिनिधि निदाएको सबैले हेरिहने र आँखा झिमिक्क गर्ने बित्तिकै थाहा हुने सूचित यसअघि नै गरिसकेका थिए। उनले ध्यान दिन पनि भनिसकेका थिए।

उनले भनेका थिए, 'मोबाइल हातमा लिन प्रतिबन्ध छ। मोबाइल झोलामा, पकेटका कापी कलम हातमा।'

तर हलमा सहभागी निदाएपछि ओलीले आफू बोलिरहेको माइकमा हिर्काए। बल्ल सबैको ध्यान उनीप्रती आकर्षित भयो। उनले फेरि माइकमा हिर्काए।

अनि भने, 'अगाडि क्यामेराहरूबाट लाइभ भइरहेका छन्, पत्रकारले खोजी खोजी फोटो खिच्लान्, जोगिनुस्। 
चुनावमा थकाइ लागेको होला ननिदाउनु होला, सम्भवतः लाइभ भइरहेको होला। यो क्यामेरावालाहरू जता तपाईंहरू निदाउनु भएको छ, त्यतै खिच्नुहुन्छ।'

अनि बल्ल बीचमा रोकिएको सम्बोधन पुनः सुरु गरे।

असार २, २०७९ बिहीबार १३:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।