ग्लोबल आइएमई र बैङ्क अफ काठमाडौँबिच गाभिने सहमति, चुक्ता पुँजी ३४.३१ अर्ब

काठमाडौँ : ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाडौँ (बीओके) बिच एक आपसमा मर्ज हुने समझदारी भएको छ। बिहीबार बिहान होटेल याक एन्ड यतिमा ग्लोबल र बीओकेबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
ग्लोबल आइएमई बैङ्कको तर्फबाट बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैङ्क अफ काठमान्डुका तर्फबाट बैङ्कका अध्यक्ष प्रकाश श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।
दुवै बैङ्क समान हैसियत १ बराबर १ अनुपातमा मर्जमा जाने सहमति भएको हो। मर्जर पश्चात् नयाँ बैङ्कको नाम ग्लोबल आइएमई बिओके लिमिटेड राखिने छ।
सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैङ्क अफ काठमान्डुको तर्फबाट २ जना रहने सहमति भएको छ।
ग्लोबल आईइमई बैङ्कले अहिलेसम्म जनता बैङ्क र कमर्ज एन्ड ट्रस्ट बैङ्कलाई आफूमा गाभिसकेको छ। १ः१ को अनुपातमा मर्ज हुँदा ग्लोबल आईएमई बैङ्कको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ।
मर्जपछि एकीकृत बैङ्कको अध्यक्षमा ढकाल र प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रत्नराज बज्राचार्य कायम रहने सहमति भएको हो।
ग्लोबल आइएमई र बीओकेको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डीडीए) बाट सिफारिस भई आउने सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) बाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ।
मर्जर पश्चात् बैङ्कको कूल पुँजी ५२.२९ अर्ब, चुक्ता पुँजी ३४.४१ अर्ब, कूल निक्षेप ३ खर्ब ८४ अर्ब, कूल कर्जा ३ खर्ब ८० अर्ब रुपैयाँसहित चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठुलो बैङ्क हुनेछ।
दुवै बैङ्कले ज्येष्ठ मसान्तसम्म ६ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन्। दुई बैङ्कहरूको ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखारहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरू, ३७ लाख भन्दा बढी ग्राहकहरू सहित अन्य धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आइएमई बिओके मुलुकको सबै भन्दा ठुलो बैङ्क हुनेछ ।
कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैङ्कका अध्यक्ष ढकालले नेपालको बैंकिङ्ग इतिहासमा एउटा ऐतिहासिक कार्य भएको बताएका थिए। उनले मर्जरपछि बन्ने नयाँ बैङ्क ठुलो मात्र नभएर सबै हिसाबले सर्वोकृष्ट बैङ्क बनाउने प्रतिबद्धता व्यक्त गरे ।
बैङ्क अफ काठमान्डुका अध्यक्ष श्रेष्ठले बैंकिङ्ग क्षेत्रमा आजको दिन सधैँ संस्मरणमा रहने बताए। उनले मर्ज हुनु प्राकृतिक प्रक्रिया भए पनि मर्जरपछि बन्ने बैङ्क कस्तो बन्छ भन्ने मूल विषय रहेको बताए।
असार २, २०७९ बिहीबार १२:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।