चितुवा आक्रमणबाट मृत्यु भएका पाँच वर्षीय बालकको परिवारलाई ५० हजार राहत

तनहुँः चितुवाको आक्रमणबाट मृत्यु भएका पाँच वर्षीय सुप्रिम बगाले मगरको परिवारलाई बन्दीपुर गाउँपालिकाले ५० हजार रुपैयाँ राहत उपलब्ध गराएको छ। गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बुधबार मृतकका बुबा प्रेम बगाले मगरलाई सो रकम हस्तान्तरण गरेका हुन्।
चितुवाको आक्रमणबाट मङ्गलबार तनहुँको बन्दीपुर गाउँपालिका–१ बोडिस्वाँरामा सुप्रिमको ज्यान गएको थियो। उनी घर नजिकैको जङ्गलमा मृता फेला परेका थिए।
गत आइतबार पनि सोही वडामा एक बालिका र एक पुरुष चितुवाको आक्रमणबाट घाइते भएका थिए। तनहुँमा हालसम्म १२ बालबालिकाको चितुवाको आक्रमणबाट ज्यान गइसकेको छ।
डिभिजन वन कार्यालयका निमित्त डिभिजन प्रमुख दयानिधि अर्यालले चितुवाको आक्रमण बढेपछि सो क्षेत्रका सामुदायिक वनमा पासो थापिएको बताएका छन्।
डिभिजन वन कार्यालयले काजक्रियाबापत मृतकका परिवारलाई ५० हजार सहयोग गरेको छ। यस्तै नौ लाख ५० हजार पनि छिट्टै प्रदान गर्ने प्रमुख अर्यालले भने।
असार २, २०७९ बिहीबार ०८:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।