लिग टुको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित

लिग टुको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित
तस्बिर: क्यान

काठमाडौंः नेपाल र अमेरिकाबीच बिहीबार बिहान सम्पन्न खेल अमेरिकाले जितेको छ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको नेपालको अन्तिम खेलमा अमेरिका ३९ रनले विजयी भएको हो।

यसअघि अमेरिका र नेपालबीचको यही प्रतियोगिताअन्तर्गतको खेल टाइ भएको थियो।

पहिले ब्याटिङ गरेर अमेरिकाले २४६ रनको लक्ष्य नेपाललाई दिएको थियो। तर नेपाल ४७ ओभर ४ बलमा अलआउट भयो। नेपालले २०६ रन मात्र बनायो।

नेपालका लागि आरिफ शेखले ७६ बलमा तीन चौकासहित सर्वाधिक ६३ रन बनाए। सोमपाल कामीले ७२ बलमा एक चौकासहित ४७ रन बनाए। ओपनर कुशल भुर्तेलले १०, आसिफ शेखले १८, देव खनालले ३४ र रोहितकुमार पौडेलले १६ रन बनाए।

बलिङतर्फ अमेरिकाका सौरभ नेत्रवालकर र अली खानले तीन/तीन तथा नोथुश केंजिगे र निसर्ग पटेलले एक/एक विकेट लिए।

यता अमेरिकाका लागि गजानन्द सिंहले ५८ रन बनाए। सुशान्त मोदानीले ५४, आरोन जोन्सले ४३, साइतेजा मुक्कामल्लाले ३६, निसर्ग पटेलले अविजित १८ र क्यामरन स्टिभन्सले अविजित १६ रन बनाए। 

बलिङतर्फ नेपालका लागि करण केसीले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए।

नेपाल लिग टुको यस संस्करणमा पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो। दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने तेस्रो खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको थियो।

लिग–२ मा नेपालले हालसम्म १६ खेल खेल्दै १५ अङ्क जोडेको छ। नेपाल लिग–२ मा पाँचौँ स्थानमा छ।

असार २, २०७९ बिहीबार ०७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।