मनोज पाण्डेको अभियोग पुष्टिका २ आधार : पीडितको भिडियो र चार जनाको बयान

काठमाडौँ : आठ वर्ष अगाडि बलात्कार गरेको अभियोग लागेका मनोज पाण्डेविरुद्ध सरकारी वकिलले जिल्ला अदालत काठमाडौँमा दर्ता गरेको अभियोग पत्र अनुसार घटनासँग जोडिएका भौतिक प्रमाण कम देखिएका छन्। तर साक्षी र घटनाबारे जानकारको बयानले घटनालाई बलियो बनाएको छ।
मुद्दा दर्ता हुँदा नै सुनुवाइ बन्द इजलासमा गर्न माग गरिएको सो घटनामा मिसिलसँगै पीडित युवतिले सामाजिक सञ्जालमा राखेको भिडियो मात्र भौतिक प्रमाण देखिन्छ।
अभियुक्त पाण्डेको कार्यालयको ल्यापटप समेत बरामद भए पनि त्यसको परीक्षण रिपोर्ट आइसकेको छैन। पीडित युवतीले आठ वर्षपछि सौन्दर्य प्रतियोगितामा सहभागी भएपछि झुक्क्याएर बलात्कार गरेको र पछि नग्न फोटो र भिडियो छ भन्दै धम्क्याएर आफूसँगै अन्य व्यक्तिसँग समेत यौन सम्बन्ध राख्न बाध्य बनाएको बताएकी थिइन्।
अभियोग पत्र अनुसार यस घटनामा चार जनाको बयान समेटिएको छ। जसले आठ वर्षपछि पीडित युवतीले घटना खुलाए पनि उनले भनेको समयमा उनीमाथि यौन हिंसा भएको भने देखिन्छ।
पीडितको पक्षमा सबैभन्दा बलियो प्रमाण देखिन्छ माल्भिका सुब्बा र फोटोग्राफर श्रीधर पौडेलको बयान जसले तत्काल सो घटना भएको देखाउँछ।
जाहेरीमा समावेश दुवैको संक्षिप्त बयानले पीडित युवतीले भिडियोमा भनेझैँ सो समयमा उनले घटनाबारे बोलेको पुष्टि हुन्छ। उनले बलात्कार भएको भने पनि दुवैको बयान अनुसार उनले तत्कालीन अवस्थामा यौन दुर्व्यवहार भनेको बयानमा देखिन्छ। दुवैले बयानमा तर पछि उनको भिडियोमा बलात्कार भएको भनिएकाले कानुन अनुसार कारबाहीको माग गरिएको छ।
त्यसपछिको बलियो प्रमाण देखिन्छ मनोचिकित्सकको। चिकित्सक मनोविद् राम पुकार साहको बयानमा पीडित युवती उपचारका लागि आउँदा आत्तिने, डराउने र उदासीनताको रोग जटिल अवस्थामा रहेको र उनले उपचारकोक्रममा पाण्डेले बलात्कार गरेकोबारे बताए पनि उपचारकोक्रममा भनिएको विषय अनुमतिविना बाहिर भन्न नमिल्ने तर प्रहरीलाई जानकारी गराउन सुझाव दिएको उल्लेख छ।
नर्भिक अस्पतालका चिकित्सक यादव विष्टको बयानले पनि उनी मानसिक आघातमा रहेको र कारण पाण्डेले गरेको व्यवहार हो भन्ने देखाउँछ।
पीडितले आत्महत्याको प्रयास गरेपछि उपचारका लागि नर्भिक लगिएको थियो। त्यस बेला विष्टले उनको काउन्सिलिङ गरेका थिए। त्यो बेलामा उनी डराउने, आत्तिनेसँगै डिप्रेसनको कारण विक्षिप्त रहेको भन्दै उनले आफूभित्रको मानसिक दबाब बाहिर निकाल्नु पर्छ भनेर सल्लाह दिएको उल्लेख गरेका छन्।
प्रतियोगिताको तीन महिनापछि नै पाण्डेले दुर्व्यवहार गरेको २ जनाको बयान र त्यसपछि २ मनोचिकित्सकको बयानले उनको डिप्रेसनको कारण पाण्डेको गतिविधि नै रहेको देखिन्छ।
बलात्कारमा उजुरीको हदम्यादका कारण मानव बेचबिखनको अभियोग लागेको छ। यसमा पाण्डेले दोस्रो व्यक्तिसँग पनि यौन सम्बन्ध राख्न बाध्य बनाएको उल्लेख छ तर दोस्रो व्यक्तिको पहिचान खुलेको छैन।
सँगै पाण्डेविरुद्ध बाल यौन दुर्व्यवहारमा समेत जाहेरी परेकाले बलात्कार घटना पुरानो हुँदा सङ्कलन हुनसक्ने स्वास्थ्य परीक्षण रिपोर्ट अनि घटनास्थल मुचुल्काको पक्ष कमजोर देखिए पनि बयानहरूले भने अभियोग बलियो देखिन्छ।
असार २, २०७९ बिहीबार ०२:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।