१५ वर्ष कैद सजायको माग गर्दै मनोज पाण्डेविरुद्ध दर्ता भयो अभियोग पत्र

काठमाडौँ : सौन्दर्य प्रतियोगिता आयोजना गर्दै सहभागीको बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे विरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको छ।
बुधवार जिल्ला न्यायाधीवक्ताको कार्यालय काठमाडौँले पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहारको अभियोगमा १५ वर्षसम्म सजायको मागवादी गर्दै अभियोग पत्र दर्ता गरेको हो।
अभियोग पत्रमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १० देखि १५ वर्ष र बाल यौन दुर्व्यवहारमा तीन वर्षसम्मको सजाय माग दाबी गरिएको छ।
पाण्डेले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी एक युवतीलाई होटेलमा बोलाएर बलात्कार गरेको आरोप सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो। उनी पक्राउ परेपछि एक किशोरीले मोडलिङ गर्न सहयोग गर्ने भन्दै बोलाएर फोटो सेसन गराएर होटेल द्वारिकामा लगेर यौन दुर्व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन्।
युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेविरुद्ध गम्भीर आरोप सार्वजनिक गरेपछि उनी विरुद्ध कारबाहीको माग गर्दै प्रदर्शन सुरु भएपछि प्रहरीले पक्राउ गरेको थियो। तर विद्यमान कानुनी प्रावधान अनुसार बलात्कार मुद्दाका लागि घटनाको एक वर्षभित्र जाहेरी पर्नुपर्ने हदम्यादका कारण प्रहरीले मानव बेचबिखनको अभियोगमा अनुसन्धान गरेको थियो।
असार १, २०७९ बुधबार १८:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।