रुसी खानीमा चुहिएको मिथेन संसारकै ठुलो

मस्को : रुसको कोइला खानीमा चुहिएको मिथेन संसारकै ठुलो हुन सक्ने अनुमान गरिएको छ। हालै प्रकाशित ग्लोबल एमिसन मोनिटरिङ स्याटेलाइट (जिएचजी स्याट)को अध्ययन रिपोर्टले रुसको कोइला खानीमा चुहिएको मिथेन संसारकै ठुलो भएको अनुमान गरेको हो।
केमेरोभो अब्लास्टस्थित रुसको सबैभन्दा ठुलो कोइला खानी रहेको र्यास्प्डकाय खानीबाट सबैभन्दा बढी मिथेन ग्यास चुहावट भएको स्याटेलाइट तथ्यांकले देखाएको छ। सो खानीबाट हालसम्म देखा परेको भन्दा ५० प्रतिशत बढी मात्रामा मिथेन चुहावट भएको जिएचजीएसले जनाएको छ।
जिएचजीएसको तथ्यांकअनुसार जनवरी महिनामा रुसी कोइलाखानीबाट एक घण्टामा ९० टन मिथेन चुहिएको थियो। जुन संसारको हालसम्मकै ठुलो मात्रामा चुहावट भएको देखिएको छ। जनवरी महिनामा चुहावटबारे पत्ता लाग्नु अघि करिब ६ महिनासम्म पनि सो मिथेन ग्यास चुहावट भएको प्रारम्भिक अध्ययनले देखाएको समेत जिएचजीएसले उल्लेख गरेको छ।
झन्डै एक वर्षसम्म निरन्तर चुहिएको मिथेन ग्यासको मात्रा पछिल्लो समय भने कम भएकोे देखिन्छ। चुहिएको मिथेन ग्याससँग पर्याप्त प्राकृतिक ग्यास उत्पादन गरी २ करोड ४० लाख घरमा ऊर्जा पुग्न सक्ने क्षमता रहेको बताइएको छ।
जिएचजीस्याटअन्र्तगत एनर्जी, ल्याण्डफिल एण्ड माइनका निर्देशक ब्रोडि विटले कोइला खानीबाट चुहावट भएको मिथेन ग्यास हालसम्मकै उच्च भएको बताए। ‘कोइला खानी, ल्याण्डफिल साइट आदीबाट मिथेन ग्यास उत्सर्जन हुन्छ। तर हामीले तथ्यांक राख्न थालेपछि कोइला खानीबाट ठुलो मात्रामा चुहावट भएको यो पहिलो पटक नै हो’ उनले भनेका छन्, ‘खानीबाट चुहिएको मिथेन ग्यास प्रयोगमा ल्याउन सकिएन भने यसले हानी कारण रूप लिन्छ।’
विश्वकै तापक्रम वृद्धिमा योगदान पुर्याउने कार्वनडाइअक्साइडभन्दा मिथेन ८० गुणा बढी शक्तिशाली रहेको र कार्बनडाइअक्साइडको तुलनामा मिथेन ग्यास लामो समयसम्म वायुमण्डलमा रहने विभिन्न अध्ययनले पुष्टि गरिसकेका छन्। पछिल्लो समय पृथ्वीको तापक्रम वृद्धिमा सबैभन्दा ठुलो भूमिका मिथेन ग्यासले नै खेलेको समेत विभिन्न रिपोर्टहरुले उल्लेख गर्दै आएका छन्।
असार १, २०७९ बुधबार १५:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।