गाँजाको वैधानिक उत्पादन खुला गराउन सरकारले अध्ययन सुरु गर्‍यो, खुला गराउन सकिने, नसकिने कानुन आयोगले हेर्दै

गाँजाको वैधानिक उत्पादन खुला गराउन सरकारले अध्ययन सुरु गर्‍यो, खुला गराउन सकिने, नसकिने कानुन आयोगले हेर्दै

काठमाडौँ :  औषधी र रेसाबाट सामान उत्पादन गर्न गाँजाको खेतीलाई वैध बनाउन माग बढेपछि सरकारले यसबारे अध्ययन सुरु गरेको छ। गाँजा खेतीलाई कानुनी रूपमै खुल्ला गर्न संसद्मा गैर सरकारी विधेयक समेत दर्ता भइसकेको छ।

गाँजाको खेती खुल्ला गराउन सामाजिक अभियान समेत चलिरहेको छ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले संसद्मा बोल्दै यसबारे सरकारले अध्ययन सुरु गरिसकेको जानकारी गराएका थिए। 

आगामी आर्थिक वर्षका लागि कानुन मन्त्रालयको नाममा विनियोजित बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै बन्दीले गाँजा खेतीबारे कानुन आयोगले अध्ययन नै सुरु गरिसकेको जानकारी गराएका थिए।  उनका अनुसार अन्य मुलुकमा यसबारे के प्रचलन छ र नेपालमा  खुला गर्न गर्न सकिन्छ वा सकिँदैन भनेर आयोगले अध्ययन गरिरहेको हो।

उनले आयोगले दिने प्रतिवेदनको आधारमा सरकारले आवश्यक निर्णय लिने जानकारी गराएका थिए। पछिल्लो समय धेरै देशहरूले गाँजा उत्पादन र सेवनलाई कानुनी रूपमै वैधानिकता दिन थालेपछि नेपालमा पनि यसका लागि दबाब बढिरहेको छ। हालसालै थाइल्यान्ड सरकारले समेत गाँजा सेवनलाई कानुनी रूपमा खुल्ला गर्ने निर्णय गरेको थियो।

नेपालमा गाँजा उत्पादन गरेर वैधानिक रूपमै निर्यात गर्न अन्तर्राष्ट्रिय सहमति लगायतका जटिलताले सम्भव देखिन्न। तर औषधी उत्पादन र त्यसको डाँठको रेसाबाट कपडा, जुत्ता लगायतका सामान उत्पादन गरेर निर्यात भने गर्न सकिन्छ।

असार १, २०७९ बुधबार १३:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।