अरुण तेस्रोमा ज्यान गुमाएका मजदूरका परिवारले शव बुझ्न मानेनन्

काठमाडौंः सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदूरका परिवारले शव बुझ्न मानेका छैनन्। मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत मजदूर कैलालीको लम्कीचुवा नगरपालिका–३ चिसापानीका ५० वर्षीय अमरबहादुर महतरा गत शनिबार मृत फेला परेका थिए।
परिवारले उनको मृत्यु रहस्यमय भएको र सत्यतथ्य छानबिन हुनुपर्ने भन्दै चार दिन बितिसक्दा पनि शव नबुझेका हुन्। यस्तै अरुण तेस्रोले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने पनि परिवारको माग छ।
मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ। कैलालीबाट मृतककी श्रीमती कमला सङ्खुवासभा आइसकेकी छिन्। उनले जिल्ला प्रहरी र प्रशासन कार्यालयमा घटनाको छानबिनका लागि माग गरेकी छिन्।
मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताएका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सरोज कोइरालाले बताए।
अरुण तेस्रोमा नेपाली र भारतीय गरी झण्डै तीन हजार मजदूर कार्यरत छन्।
असार १, २०७९ बुधबार १०:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।