मतदाता नामावली सङ्कलन र अद्यावधिक आजदेखि सुरु, अस्थायी ठेगानाबाटै दर्ता गर्न सकिने

मतदाता नामावली सङ्कलन र अद्यावधिक आजदेखि सुरु, अस्थायी ठेगानाबाटै दर्ता गर्न सकिने

काठमाडौंः निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य आजबाट पुनः सुरु गरेको छ। यसअघि स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्यमा रोक लगाइएको थियो।

आजबाट देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, ७३ वटै ईलाका प्रशासन कार्यालय र निर्वाचन कार्यालयबाट नामावली सङ्कलन तथा अद्यावधिक गर्न सकिनेछ। आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी सो कार्य पुनः सुरु भएको हो।

यस्तै यस पटक अस्थायी बसोबास रहेको जिल्लाबाट समेत मतदाता नामावलीमा नाम दर्ता गर्न सकिनेछ। 

आजदेखि मतदाता नामावलीमा नाम, ठेगाना, जन्ममितिलगायत विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा त्रुटि सच्याउने तथा कुनै मतदाताले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनी त्यस्तो नाम मतदाता नामावलीबाट हटाइने छ। विवाह वा बसाइँ सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ।

मतदाताले आफ्नो नाम रहेको मतदानस्थलबाट पायक पर्ने सोही वडाको अर्को मतदानस्थलमा नाम सार्न निवेदन दिएमा सोहीबमोजिम स्थानान्तरण गर्न सकिनेछ। मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि कुनै व्यक्तिले इमेल वा फ्याक्समार्फत निर्वाचन कार्यालयमा निवेदन दिएमा पनि नामावलीे अद्यावधिक गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

विसं २०७३ माघ २० गतेभन्दा अघि दर्ता भई नागरिकतामा उल्लेखितभन्दा फरक ठेगानामा मतदाता नामावली रहेका व्यक्तिले नागरिकतामा उल्लेखित ठेगानामा नै मतदाता नामावली सार्न मतदाता नामावली रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछन्। निजको नाम सो जिल्लाको मतदाता नामावलीबाट निजको नागरिकतामा उल्लेखित ठेगाना भएको स्थानीय तहको वडामा सार्न सकिने आयोगले जनाएको छ।

मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता नगरिने हुँदा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति छिटै घोषणा हुने सम्भावना रहेको भन्दै आयोगले सो घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम सङ्कलन गर्न योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन अनुरोध गरेको छ।

असार १, २०७९ बुधबार ०९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।