लिग टुमा नेपालले ओमानलाई ७ विकेटले हरायो, आज राति अमेरिकाविरुद्ध खेल्ने

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानको टोलीलाई ७ विकेटले पराजित गरेको छ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को गए राति भएको खेलमा ओमान नेपालसँग ७ विकेटले पराजित भएको हो।
पहिले ब्याटिङ गरेर ओमानले ४६ ओभर ५ बलमा अलआउट हुँदै १६३ रन मात्र बनायो। १६४ रनको लक्ष्य पाएर मैदानमा उत्रिएको नेपालले ३३ ओभर १ बलमै ३ विकेट गुमाएर लक्ष्य भेटायो।
नेपालको लागि आसिफ शेखले सर्वाधिक ६२ रन बनाए। कुशल भुर्तेलले ५६ रनको पारी खेले। रोहित पौडेलले २६ रन बनाउँदा देव खनालले १० रन बनाए। दिपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहे।
ओमानका लागि बलिङतर्फ फायज बुटले दुई विकेट लिए। खावर अलीले एक विकेट लिए।
ब्याटिङतर्फ ओमानका जिशन मक्सुदले ५२ रन बनाए। सन्दीप गौडले ४७ रन र जतिन्दर सिंहले २३ रन बनाए। अन्य ब्याट्सम्यान खासै चलेनन्।
ओमानलाई सानो अंकमै रोक्न करण केसीले मुख्य भूमिका रह्यो। उनी एक्लैले ५ विकेट लिए। ९ ओभर बलिङ गर्दा केवल ३३ रन मात्र दिए। यस्तै सन्दीप लामिछानेले ३ विकेट आफ्नो नाममा बनाउँदा सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए।
लिग टुमा अब नेपाल १५ खेलमा १५ अंकसहित पाँचौँ स्थानमा छ। शीर्ष स्थानमा अझै ओमान नै छ।
जारी त्रिदेशीय प्रतियोगिताअन्तर्गत नेपाल ओमानसँग अघिल्लो खेलमा १३ रनले पराजित भएको थियो। त्यसपछि अमेरिकाविरुद्ध नेपालले टाइ खेलेको थियो।
अमेरिकाविरुद्धको दोस्रो खेल नेपालले आज राति खेल्नेछ।
असार १, २०७९ बुधबार ०८:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।