इण्डोनेसियासँग ७-० गोलअन्तरले पराजित भयो नेपाल, तीन खेलमा जम्मा एक गोल मात्र फर्कायो

इण्डोनेसियासँग ७-० गोलअन्तरले पराजित भयो नेपाल, तीन खेलमा जम्मा एक गोल मात्र फर्कायो
तस्बिर: एन्फा

काठमाडौंः एएफसी एसियन कप छनोटअन्तर्गत हिजो भएको तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ। गए राति भएको खेलमा नेपाल ७-० गोलअन्तरले पराजित भएको हो।

खेलको ३३औं मिनेटमै रक्षापङ्तिका सुमन अर्याल दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाहिर जाँदा नेपाल १० खेलाडीमा सीमित भएको थियो। इण्डोनेसियाले त्यस अवसरको राम्रै सदुपयोग गर्यो।

खेलको पहिलो हाफ २-० मा सकिए पनि दोस्रो हाफमा नेपालको गोल पोस्टमा इण्डोनेसियाले ५ गोल थप गर्यो। इण्डोनेसियाका लागि खेलको छैटौं मिनेटमा मुहमद दिमास द्रजाडले गोल गरेका थिए। त्यसपछि ४३औं मिनेटमा वितान सुलेमानले गोल गर्दै अग्रता २-० को बनाए।

तेस्रो गोल खेलको ५४औं मिनेटमा भयो। आर्यन्टोको गोलले इण्डोनेसिया ३-० ले अघि बढ्यो। त्यसको एक मिनेटभित्रैमा साद्दिल रामदानीले गोल गर्दै ४-० को अग्रता बनाए।

त्यसपछि ८०औं र ८१औं मिनेटमा एल्कन बाग्गोट र सुलेमानले गोल गरे। सुलेमानको यो व्यक्तिगत दोस्रो गोल थियो।

सातौं तथा अन्तिम गोल भने खेलको इन्जुरी समयमा भयो। मार्सेलिनो फेर्डिनानले गोल गर्दै इण्डोनेसियालाई ७-० को स्थितिमा पुर्याए।

यो हारसहित नेपालले आफ्नो तीन वटै खेल गुमायो। पहिलोमा जोर्डनसँग २-० ले पराजित भएको नेपाल दोस्रोमा कुवेतसँग ४-१ ले पराजित भएको थियो।

योसहित प्रतियोगिताभर नेपालले १३ गोल खाँदा जम्मा एक गोल फर्कायो। नेपालका लागि दर्शन गुरुङले एक गोल गरेका हुन्।

असार १, २०७९ बुधबार ०८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।