जेलमा रहेका गुन्डा नाइकेलाई भेट्दा अनुसन्धानमा तानिए स्वयम्भूका डिएसपी

काठमाडौँ : निर्माण व्यवसायी महासङ्घका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याको अभियोगमा केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समिरमानसिंह बस्नेतलाई जेलमा भेट्न जाँदा एक डिएसपी अनुसन्धानमा तानिएका छन्।
प्रहरी वृत्त स्वयम्भूमा कार्यरत डिएसपी मिलन केसी आइतबार केन्द्रीय कारागार गएर बस्नेतलाई भेटेर फर्किएका थिए। उनले बिना प्रयोजन गम्भीर अपराधमा कारागारमा रहेका व्यक्तिलाई भेटेको र सङ्गठनका जिम्मेवार अधिकारीलाई जानकारी समेत नदिएको देखिएपछि एसपीको नेतृत्वमा छानबिन समिति नै गठन भएको हो।
यी दुवैको भेटको प्रयोजनबारे छानविन गर्न काठमाडौँ जिल्ला परिसरले एसपी दिनेश मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति नै गठन गरिसकेको छ।
काठमाडौँमा गुन्डा नाइकेको रूपमा परिचित बस्नेत कुमार घैँटे इन्काउन्टरमा मारिएपछि भारतमा बस्न थालेका थिए। २०७४ असोज २३ गते काठमाडौँको शान्तिनगरस्थित खरिबोट नजिक गोली हानेर गौचनको हत्या भएको घटनाको अनुसन्धानमा उनी संलग्न देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोको टोली भारत पुगेर उनलाई नियन्त्रणमा लिएर नेपाल ल्याएको थियो।
उनी पाँच वर्षदेखि केन्द्रीय कारागारमा छन्। उनले कारागारबाटै आफ्नो समूह परिचालन गर्ने गरेको सूचनाको आधारमा प्रहरीले पटक-पटक अनुसन्धान समेत गरेको थियो।
जेठ ३१, २०७९ मंगलबार २२:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।