एकीकृत समाजवादीको दाबी : स्थानीय तह निर्वाचनमा सफलता नपाउनुको कारण कांग्रेस, माओवादी र निर्वाचन आयोगको व्यवहार

काठमाडौँ : एकीकृत समाजवादीले नेपाली कांग्रेस र माओवादी केन्द्रको व्यवहारका कारण स्थानीय तहको निर्वाचनमा सफलता पाउन नसकेको दाबी गरेको छ। पार्टीको स्थायी कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको स्थानीय तह निर्वाचनको समीक्षा प्रतिवेदनमा अघिल्लो स्थानीय तहको निर्वाचनमा दोस्रो र तेस्रो भएको दल मिलेर गएमा पहिलो भएको दललाई हराउन सकिन्छ भन्ने मनोविज्ञान अनुसार कांग्रेस र माओवादीले व्यवहार गरेको दाबी गरिएको छ।
'अघिल्लो स्थानीय तहमा पहिलो,दोस्रो र तेस्रो भएका पार्टीहरूमध्ये दोस्रो र तेस्रो पार्टी मिलेर गएमा पहिलो पार्टीलाई हराउन सक्छन् भन्ने र अघिल्लो निर्वाचनमा एमालेले प्राप्त गरेको मत एक प्रतिशतदेखि २० प्रतिशतसम्म कटौती भएमा उसले धेरै सिट गुमाउने तर्क र तथ्यांकसहित कांग्रेस र माओवादी आफूहरू मातेरै मिलेर जाने गरी अगाडि बढे' प्रतिवेदनमा भनिएको छ।
त्यसको प्रभावले धेरै जसो पालिकामा कांग्रेस र माओवादीबिच मात्रै सिट बाँडफाँड भएको र त्यसमा पनि वडाहरूमा तालमेलै हुन नसकेको नेपालको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा प्रदेश अनुसार कहाँ के-के भयो भन्ने समेत उल्लेख गरिएको छ।
कांग्रेस र माओवादीको व्यवहारका कारण योजना बनाएजस्तो नतिजा नआए पनि २५ प्रतिशत स्थानमा मात्र उम्मेदवारी दिँदा पार्टीका उम्मेदवारहरूले नौ लाख मत ल्याएको र त्यसमध्ये पनि आधा गठबन्धनकै माने पनि पाँच लाख मत पार्टीकै भएको भन्दै प्रतिवेदनमा गठबन्धन नभएका सबै स्थानमा उम्मेदवारी दिन सकेको भए पार्टीको मत बढ्ने दाबी गरिएको छ।
गठबन्धनमा रहेका दलहरूबिच गठबन्धन गर्नै नचाहने, गठबन्धनमा भएका निर्णय कार्यान्वयन गर्न नचाहने, गठबन्धनभित्रै उपगठबन्धन गर्ने, गठबन्धन भएको स्थानमा पनि इमानदारीपूर्वक भोट नहाल्ने, गठबन्धनभन्दा बाहिरका दलसँग पनि गठबन्धन गर्ने, गठबन्धन गरेका दलहरूबिच सहकार्यको कमजोर भावना हुनु र गठबन्धनलाई आफ्नो पार्टीको फाइदामा मात्रै प्रयोग गर्न चाहने समस्या देखिएको उल्लेख छ।
एकीकृत समाजवादीका अनुसार यो प्रवृत्ति कांग्रेस र माओवादीमा बढि देखिएको थियो। गठबन्धन भइहाल्छ भनेर तयारी नगर्नु, पार्टी भएको स्थानमा नेतृत्व दाबी गर्नेभन्दा पनि व्यक्ति केन्द्रित दाबी गर्ने र गठबन्धन भएको स्थानमा उम्मेदवारी दिन तँछाडमछाड गर्ने तर गठबन्धन नभएको स्थानमा उम्मेदवारी दिनै तयार नहुने पार्टीभित्रको समस्याका कारण समेत सोचेजस्तो परिणाम नआएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतिवेदनमा पार्टीमा चुनावलाई जनतामाझ राजनीति पुर्याउने माध्यम नठानी पद पाउने माध्यमको रूपमा मात्र हेर्ने, पार्टीको तर्फबाट दिएको उम्मेदवारी आफूखुसी फिर्ता लिने अनि आफूले उम्मेदवारी नपाएपछि पार्टीको निर्णयको विरोध गर्ने र पार्टी नै छाडेर हिँड्ने पनि देखिएको उल्लेख छ।
प्रतिवेदनमा मतपत्र भद्दा हुँदा र उम्मेदवार नरहेको पार्टीको पनि चिन्ह राख्दा धेरै मत बदर भएको र यसरी मत बदर हुँदा पराजित हुने उम्मेदवारहरू धेरै एकीकृत समाजवादीको रहेको उल्लेख छ।
प्रतिवेदनमा निर्वाचन आयोग पूर्ण रुपले निष्पक्ष नरहेको आरोप समेत लगाइएको छ। उसले भन्ने एक र गर्ने अर्को गरेको र कतिपय निर्वाचन अधिकृतले निष्पक्ष भएर काम नगरेको समेत आरोप लगाइएको छ। प्रहरी प्रशासनको व्यवहारको समेत आलोचना गरिएको छ।
स्थानीय तहको निर्वाचनमा आशा अनुसारको परिणाम नआउनुमा कांग्रेस, माओवादी र निर्वाचन आयोगमाथि दोष लगाए पनि प्रतिवेदनमा पार्टीको सङ्गठित शक्ति बलियो नभएको समेत स्वीकार गरिएको छ।
जेठ ३१, २०७९ मंगलबार २१:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।