नेप्से परिसूचक २ हजार तल झर्यो, कारोबार रकम एक अर्ब १८ करोड मात्र

काठमाडौँ : स्थानीय तह निर्वाचन अनि नयाँ बजेट आउँदा समेत त्यसको सकारात्मक प्रभाव नपरेपछि मङ्गलवार सेयर बजारको नेप्से परिसूचक २ हजार बिन्दुबाट तल झरेको छ।
मङ्गलवार दिनभरको कारोबारमा नेप्से ३६.०७ अङ्कले घटेर १९९६.२६ बिन्दुमा आएर बजार बन्द भयो। दैनिक २२ अर्बसम्म कारोबार हुने बजारमा मङ्गलवार १ अर्ब १८ करोड ५५ लाख ४६ हजारको मात्र कारोबार भयो।
२०७८ भदौ २ गते नेप्से परिसूचक ३ हजार १ सय ९९ बिन्दुमा पुगेको थियो। यो हालसम्मकै उच्च विन्दु हो। सरकार परिवर्तन, नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत सेयर कर्जा सीमा तोक्ने अनि प्रमुख दलका नेताहरूले नै सेयर बजारबारे नकारात्मक धारणा सार्वजनिक गरेपछि नेप्से ओरालो लाग्न थालेको थियो।
कहिले सामान्य करेक्सन भए पनि यो ९ महिना २९ दिन नेप्सेको ओरालो यात्रा रोक्न सरकारी निकायबाट कुनै पहल भएन। अनलाइन कारोबारसँगै सेयर बजारमा भित्रिएका नयाँ लगानीकर्ताहरू आत्तिए। अनि नेप्से एक हजार २ सय २ अङ्कले झरेर १९ सय ९६ को विन्दुमा आइपुग्यो।
भदौ २ मा नेप्से उच्च बिन्दुमा पुग्दा लगानीकर्ताको लगानीको मूल्य ४० खर्ब १० अर्ब पुगेको थियो। अहिले कुल बजारको पुँजीकरण घटेर २८ खर्ब ४४ अर्बमा झरेको छ।
जेठ ३१, २०७९ मंगलबार २१:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।