पार्टी अध्यक्ष ओलीको आलोचना गरेको भन्दै घनश्याममाथि कारबाही गर्ने अनुशासन आयोगको निर्णय

काठमाडौँ : स्थानीय तह निर्वाचनमा पार्टीको हारको जिम्मेवारी पार्टी अध्यक्षले लिनुपर्ने अभिव्यक्ति दिएका एमाले नेता घनश्याम भुसाल कारबाहीमा पर्ने भएका छन्। पार्टी अध्यक्ष केपी ओलीको आलोचना गरेको भन्दै उनीमाथि अनुशासनको कारबाहीको प्रक्रिया अगाडि बढेको थियो।
सिफारिसबारे छलफल गर्न बसेको पार्टीको अनुशासन आयोगले स्थायी कमिटी सदस्य समेत रहेका भुसाललाई कारबाही गर्ने निर्णय गरेको हो।
मङ्गलवार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोगको पूर्ण बैठक बसेको थियो। सो बैठकले पार्टी अध्यक्षको सार्वजनिक रूपमा आलोचना गरेकाले भुसालमाथि कारबाही गर्न भएको सिफारिस कारबाही लायक भएको भन्दै निर्णय गरेको एक नेताले उकेरालाई जानकारी दिए।
आयोगका अध्यक्ष केशव बडालको अध्यक्षतामा बसेको आयोगको सचिवालय बैठकले भुसालको अभिव्यक्ति पार्टीको अनुशासनविपरित भएको भन्दै विधान अनुसार कारबाही गर्न सिफारिस गरेको थियो।
सोमबार स्थानीय तहको निर्वाचनबारे समीक्षा गर्न बसेको पार्टीको सचिवालय बैठक सकियो। मङ्गलवार आयोगको पूर्ण बैठक बसेर भुसाललाई कारबाही गर्न गरिएको सिफारिस अनुमोदन गर्यो।
जेठ ३१, २०७९ मंगलबार २०:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।