छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, १७ जना घाइते

धादिङ : धादिङको ईजारा र सिस्नेखोलामा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। धादिङको निलकण्ठ नगरपालिका–३ ईजारामा बा१८च २८२० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो।
धादिङवेसीबाट जुरेथुमतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा निलकण्ठ नगरपालिका–१ जुरेथुमका ३२ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए। दुर्घटनामा १७ जना घाइते भएका छन्।
उनीहरुको धादिङ अस्पतालमा उपचार भइरहेको डा. मधुकर दाहालले जानकारी दिए। उकालो बाटोमा क्षमताभन्दा धेरै यात्रु र सामान बोकेका कारण जिप दुर्घटना भएको बताइएको छ।
यस्तै त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनीवेशी नगरपालिका– ९ सिस्नेखोला सुरुङ मार्गमा ट्रक दुर्घटनामा एकजनाको मृत्यु भएको छ। नौबिसेबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ७३८६ नम्बरको मालबाहक ट्रक सोही दिशातर्फ जाँदै गरेको बा३क ३४०४ नम्बरको मिनि ट्रक र बा८२प ५६४५ नम्बरको मोटर साइकलसँग ठोक्किँदा एक युवाको ज्यान गएको प्रहरीले जनाएको छ।
धादिङको निलकण्ठ नगरपालिका–१२ का ४४ वर्षीय यमबहादुर मगरको मृत्यु भएको हो। दुर्घटनामा घाइते निलकण्ठ नगरपालिका–८ का गणेश श्रेष्ठको काठमाडौँमा उपचार भइरहेको छ।
जेठ ३१, २०७९ मंगलबार २०:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।