डीएपी भित्रियो, असार पहिलो साताबाट युरिया पनि भित्रिने साल्ट ट्रेडिङको दावी

डीएपी भित्रियो, असार पहिलो साताबाट युरिया पनि भित्रिने साल्ट ट्रेडिङको दावी

काठमाडौंः साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले असारको पहिलो साताभित्रमा युरिया मल भित्रिने दावी गरेको छ। यस्तै कर्पोरेशनले डीएपी मल भने नेपाल भित्रिएर धमाधम वितरण भइरहेको जनाएको छ।

हालसम्म १७ हजार मेट्रिक टन डीएपी मल नेपाल भित्रिई धमाधम डिपो/बिक्री कक्षमार्फत वितरण भइरहेको र २२ हजार मेट्रिक टन युरिया मल असारको पहिलो सातादेखि भित्रिन थाल्ने कर्पाेरेशनले जनाएको छ।

यसवर्षका लागि कर्पाेरेशनले २० हजार मेट्रिक टन डीएपी र २२ हजार मेट्रिक टन युरिया मलसहित एक लाख मेट्रिक टन ल्याउन सरकारबाट स्वीकृति पाएको थियो। डीएपीको बाँकी तीन हजार मेट्रिक टन भारतको कोलकाता बन्दरगाहमा आइसकेको कर्पोरेशनले जनाएको छ।

कर्पाेरेशनका विभागीय प्रबन्धक बज्रेश झाका अनुसार २२ हजार मेट्रिक टन अर्थात् चार लाख ४० बोरा युरिया मल कोलकाता आइसकेको छ।

कर्पाेरेशनले इण्डोनेसियाबाट युरिया मल झिकाएको हो। विश्व कृषि बजारमा इण्डोनेसियाको मल सर्वाेत्कृष्ट मानिन्छ।

सरकारले यसपटक कर्पाेरेशनलाई कुल एक लाख मेट्रिक टन मल आयात गर्न अनुदान दिएको थियो। यो कुल अनुदान आयातको ३० प्रतिशत हिस्सा मात्र हो। बाँकी अर्काे सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीलाई जिम्मेवारी प्रदान गरिएको छ। कृषि मन्त्रालयले यसपटक मलमा मात्र करिब रु ११ अर्बभन्दा बढीको अनुदान प्रदान गरेको जनाइएको छ।

जेठ ३१, २०७९ मंगलबार १०:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।