भासिएको चार दिनपछि दुईतर्फी सञ्चालनमा आँबुखैरेनी सडक

भासिएको चार दिनपछि दुईतर्फी सञ्चालनमा आँबुखैरेनी सडक
फाइल तस्बिर

काठमाडौंः पृथ्वी राजमार्गको सडक भासिएको स्थान तनहुँको आँबुखैरेनी खण्ड चार दिनपछि दुईतर्फी सञ्चालनमा आएको छ। सोमबार साँझबाट आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिकको सडक दुईतर्फी सञ्चालनमा आएको हो।

यस स्थानमा शुक्रबार सडक भासिएको थियो। शुक्रबार र शनिबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो। आइतबारबाट भने राति र हेभी सवारी पनि सञ्चालन गरिएको छ।

साढे दुई मिटर भित्ता काटिएकाले दुईतर्फी सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ। पहिला सडक भासिएर बाँकी रहेको तीन मिटर र हाल पहरो काटेर साढे दुई मिटर गरी साढे पाँच मिटर बाटो बनेको छ।

दुईतर्फी यातायात सञ्चालन भए पनि जोखिम भने कायमै रहेको जनाइएको छ। यात्रुवाहक सवारीलाई दुईतर्फी सञ्चालन गरिए पनि मालवाहक सवारी भने एकतर्फी मात्रै सञ्चालनको व्यवस्था मिलाइएको छ।

जेठ ३१, २०७९ मंगलबार ०७:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।