आज प्रदेश १ र मधेश प्रदेशको कही स्थानमा भीषण वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश १ र मधेश प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। हाल प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
यतिबेला प्रदेश १, मधेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। गण्डकी, बागमती, मधेश तथा प्रदेश १ का थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो प्रदेश १ का धेरै, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दूई स्थानहरूमा चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ तथा मधेशको एक-दुई स्थानमा भीषण वर्षाको पनि सम्भावना छ।
आज राति प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १ का एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।
जेठ ३१, २०७९ मंगलबार ०७:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।