मनोज पाण्डेविरुद्धको अनुसन्धान सकियो, मिसिल र प्रमाण सरकारी वकिलकोमा

मनोज पाण्डेविरुद्धको अनुसन्धान सकियो, मिसिल र प्रमाण सरकारी वकिलकोमा

काठमाडौँ : सौन्दर्य प्रतियोगितामा सहभागी गराएर बलात्कार गरेको र एक नाबालिकाको यौन शोषण गरेको आरोपमा प्रहरी हिरासतमा रहेका मनोज पाण्डेविरुद्धको प्रहरी अनुसन्धान सकिएको छ।

प्रहरी परिसर काठमाडौँले पाण्डे विरुद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन शोषण विरुद्ध अनुसन्धान सक्काएको हो।

परिसरका एसपी दिनेश मैनालीका अनुसार दुवै अभियोगबारे प्रहरीको तर्फबाट अनुसन्धान सकाएर मिसिल जिल्ला न्यायाधिवक्ताको कार्यालय काठमाडौँमा बुझाइ सकिएको छ।

सरकारी वकिलले प्रहरीले बुझाएको अनुसन्धानको प्रस्तावित राय सुझाव र मिसिलमा संलग्न प्रमाणको अध्ययन गरेर अभियोग पत्र बनाएर अदालतमा दर्ता गर्नेछ।

प्रमाण अपुग भएको अवस्थामा पुन अनुसन्धान गर्न निर्देशन समेत दिन सक्ने छ सरकारी वकिलले प्रहरीलाई।

एक युवतीले सामाजिक सञ्जालमार्फत आठ वर्ष अगाडि पाण्डेले आफूमाथि गरेको बलात्कार र यौन शोषणको घटना सार्वजनिक गर्दै त्यसले आफूलाई लामो समयसम्म मानसिक रूपमा समेत आघात पुर्याइरहेको बताएकी थिइन्।

त्यसपछि उनको पक्षमा सार्वजनिक प्रदर्शनहरू हुन थालेपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियो। तर कानुनमा बलात्कार भएको एक वर्षभित्रमा उजुरी दिनुपर्ने हदम्याद बाधक भएपछि प्रहरीले पाण्डेलाई मानव वेचविखनको आरोपमा अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानकैक्रममा अर्की एक किशोरी प्रहरीको सम्पर्कमा आएर मोडलिङको अवसर दिन्छु भनेर पाण्डेले दुर्व्यवहार गरेको जाहेरी दिएपछि उनी विरुद्ध बाल यौन दुर्व्यवहारको अभियोग समेत थपिएको थियो।

जेठ ३०, २०७९ सोमबार २१:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।