सेटिङमा बजेट बनाएको खुलासासँगै राजीनामा दिने दबाबमा अर्थमन्त्री, प्रचण्ड आन्तरिक छलफलमा

काठमाडौँ : अर्थ मन्त्रालयका जिम्मेवार अधिकारीहरूलाई पन्छाएर बिचौलियामार्फत राजश्व दर हेरफेर गरेको आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्मा सङ्कटमा परेका छन्।
बजेट निर्माणको अन्तिम समयमा शर्माले मन्त्रालयसँग सरोकारै नभएका २ व्यक्तिलाई मन्त्रालयमा बोलाएर राजश्वको दर जस्तै संवेदनशील विषय हेरफेर गर्न लगाएको सार्वजनिक भएसँगै उनको पद समेत सङ्कटमा परेको छ।
अन्नपूर्णपोष्ट दैनिकले शर्माले पूर्व नायब सुब्बा रघुनाथ घिमिरे र अर्का एक व्यक्तिलाई मन्त्रालयमा बोलाएर मन्त्रालयका उच्च अधिकारीहरूलाई उनीहरूले भने अनुसार राजश्वको दर हेरफेर गर्न निर्देशन दिएको समाचार प्रकाशित गरेको थियो।
अन्नपूर्ण पोस्टको सोमबारको प्रिन्ट संस्करणमा सो समाचार प्रकाशित हुनु अगाडि नै प्रधामन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सूचना पाइसकेका थिए। समाचार प्रकाशित हुनुभन्दा अगाडि नै प्रधानमन्त्री देउवाले यसबारे प्रचण्ड र अर्थमन्त्री शर्मासँग चासो राखेका थिए।
देउवाले यो गम्भिर विषय भएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अर्थमन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्न आइतबारै आग्रह गरेका थिए। प्रचण्डले यसबारे आफूले पनि बुझिरहेको भन्दै शर्माबाट गल्ती भएको देखिए फिर्ता गर्ने वचन दिएका थिए।
प्रचण्डले आफ्नो स्रोतबाट बुझ्दा समेत बजेटको राजश्व दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रयोग भएको देखिएपछि उनले अर्थमन्त्री शर्मालाई पार्टीले फिर्ता बोलाउने निर्णय गर्नुभन्दा आफैँ राजीनामा दिए राम्रो भन्ने सन्देश पठाइसकेका छन्।
'समाचार प्रकाशित भएपछि सोमबार प्रधानमन्त्री र प्रचण्डबिच अर्थमन्त्रीको गतिविधिबारे गम्भीर छलफल भएको छ। प्रचण्डजीले पार्टीका नेताहरूसँग छलफल गरेर अर्थमन्त्रीबारे चाँडै निर्णय गर्ने बताउनुभएको छ,' बालुवाटार स्रोतले उकेरालाई बतायो।
जेठ ३०, २०७९ सोमबार १६:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।