विपद् व्यवस्थापनका लागि नेपाल प्रहरी र सशस्त्रको तयारी पूरा

विपद् व्यवस्थापनका लागि नेपाल प्रहरी र सशस्त्रको तयारी पूरा

काठमाडौंः गृह मन्त्रालयमा यतिबेला राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १३औं बैठक बसिरहेको छ। गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकमा शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय धिरजप्रताज सिंह र राजु अर्याल लगायतको उपस्थिति रहेको छ।

बैठकमार्फत 'मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९' स्वीकृत भएको छ। यस वर्ष विपद्बाट करिब २० लाख जनसंख्या प्रभावित हुनसक्ने आकलन गर्दै कार्ययोजना निर्माण गरिएको छ।

यस्तै नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताज सिंहले मनसुनको समयमा पहाडी क्षेत्रमा पहिरो र तराईका भूभागमा डुबानको समस्या रहेको बताउँदै त्यसको प्रतिरक्षाका लागि आफूहरूसँग पर्याप्त सामग्री रहेको बताएका छन्।

तर तराईमा अर्लट सिस्टमले बाढीको सूचना दिने र पहाडमा अर्लट सिस्टम नभएकाले समस्या हुने गरेको उनले बताए। यद्यपि, सुरक्षा निकाय भने अर्लटमा रहेको उनले दावी गरे।

यता सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले भारतले बनाएका बाँधले नेपालको तराई क्षेत्र डुबानमा पर्न थालिसकेकाले यसको समाधानको लागि परराष्ट्र मन्त्रालयसहित सरकारले ध्यान दिनुपर्ने बताए।

'कतिपय अवस्थामा उता गएर बाँध भत्काइदेऊ भन्ने खालको कुरा आउँछ। यसले अप्ठ्यारोमा पर्ने गरेको छ', उनले भने।

उनले ६ अर्बको कोष एकीकृत रूपमा खर्च गर्न पनि सरकारसँग अनुरोध गरेका छन्। उनले जिल्लासँग विपद् व्यवस्थापनका लागि करिब एक करोड हुने र सो रकमले 'बोट' किन्न समेत नसक्ने अवस्था हुने गरेको पनि बताए। शहरी क्षेत्रमा पनि डुबानले समस्या दिने देखिन्छ।

विपद् व्यवस्थापन र उद्धारमा सशस्त्रको तयारीको सन्दर्भमा भने उनले सशस्त्रले उद्धारको लागि १० ठाउँमा स्ट्यान्डबाइ संयन्त्र राखेको र इन्धन पनि मौज्दात राख्न थालेको बताएका छन्।

यस्तै उनले सातै प्रदेशमा गोताखोर टोली तयारी अवस्थामा राखेको पनि बताए।

जेठ ३०, २०७९ सोमबार १०:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।