पृथ्वी राजमार्गमा राति पनि सवारी चलाउन पाइने, हेभी सवारीलाई लगाइएको अवरोध पनि खुल्यो

पृथ्वी राजमार्गमा राति पनि सवारी चलाउन पाइने, हेभी सवारीलाई लगाइएको अवरोध पनि खुल्यो

तनहुँः पृथ्वी राजमार्गमा अब राति पनि सवारी सञ्चालन गर्न पाइने भएको छ। राजमार्गको आँबुखैरेनी–मुग्लिङ खण्डमा सडक भासिएपछि रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएकाले जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारबाट राति ७ देखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो। 

आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएपछि रोक लगाइएकोमा आइतबारदेखि अवरोध हटाइएको हो।

यस्तै आइतबार बेलुकादेखि सानाठूला र हेभी सवारी साधन समेत सञ्चालन गराइएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए।

सडक डिभिजन कार्यालय दमौलीले सडक भासिएको कुनापट्टिबाट भित्ता काटिरहेको छ। उक्त सडक मर्मत नहुँदासम्म भासिएको खण्डमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ।

यता, मुग्लिङ-पोखरा सडकखण्ड निर्माणका लागि याम्पाफाँट र घाँसीकुवा सडकखण्डमा राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन भने यसअघिको सूचनाअनुसार नै बन्द रहने प्रशासनले जनाएको छ। 

जेठ ३०, २०७९ सोमबार ०७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।