नेपाली सेना भरपर्दो जमिनी शक्ति : फ्लिन

नेपाली सेना भरपर्दो जमिनी शक्ति : फ्लिन

काठमाडौँ : अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिनले नेपाली सेना एक भरपर्दो जमिनी शक्ति भएको बताएका छन्।  

चारदिने औपचारिक भ्रमणका क्रममा फ्लिनले आज शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज भ्रमणपश्चात् आयोजित समारोहमा यस्तो बताएका हुन्। उनले नेपाली सेना संसारकै पुरानो सेनामध्ये एक रहेको समेत बताएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

उक्त भ्रमणका क्रममा उनले कलेजका शिक्षाध्यक्षसँग भेटघाट तथा तालिमरत शिक्षार्थी अधिकृतसँग अन्तरक्रिया गर्नाका साथै वृक्षरोपण पनि गरे। फ्लिन नेतृत्वको टोलीले आजै काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गरेको थियो। सो क्रममा शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिबाट उक्त भ्रमणदललाई वस्तुस्थितिलगायत विविध पक्षबारेमा जानकारी गराइएको थियो।
 
उक्त भ्रमणदलले शान्ति स्थापना कार्यको दौरान आवश्यक पर्ने विभिन्न प्रदर्शनीको अवलोकनसमेत गरेको थियो। भ्रमणका क्रममा नेपाली सेनाका रथी तथा अधिकृत र उक्त भ्रमण दलका सदस्यहरूबीच संयुक्त राज्य अमेरिकाबाट शान्ति स्थापना कार्यका लागि प्राप्त सहयोग भविष्यमा थप वृद्धि गर्दै लैजानेलगायत विषयमा छलफल भएको जनाइएको छ। 

यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए। यस्तै प्रधानसेनापतिसँग पनि उनले भेटवार्ता गरेका थिए। यही जेठ २६ गते नेपालको चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका उनले आजै स्वदेश फिर्ता हुने कार्यक्रम छ। 

जेठ २९, २०७९ आइतबार २१:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।